मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

कांग्रेसभित्र विशेष महाधिवेशनको माग तीव्र, देउवालाई बिदा गर्ने तयारी

2.1K
SHARES
कांग्रेसभित्र विशेष महाधिवेशनको माग तीव्र, देउवालाई बिदा गर्ने तयारी

काठमाडौं । जेन–जी आन्दोलनपछिको राजनीतिक परिस्थितिले नेपाली कांग्रेसभित्र नेतृत्व परिवर्तनको मागलाई तीव्र बनाएको छ । ८० वर्ष पुगेका सभापति शेरबहादुर देउवालाई बिदा गरी नयाँ नेतृत्व चयन गर्न कांग्रेसका ठूलो संख्यामा रहेका महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशन बोलाउन माग गरेका छन् ।

महाधिवेशन प्रतिनिधिहरूले संयुक्त विज्ञप्ति जारी गरी भदौ २३–२४ मा भएको आन्दोलनमा तत्कालीन सरकारले गरेको दमनको निन्दा गरेका छन् । साथै, आन्दोलनकै आडमा सिंहदरबार, सर्वोच्च अदालत, संसद भवन, राष्ट्रपति कार्यालयलगायतका संरचनामा भएको तोडफोड, आगजनी र लुटपाटलाई आन्दोलनलाई बदनाम गराउने तत्वहरूको काम भन्दै भर्त्सना गरेका छन् ।

नेताहरूले भ्रष्टाचार, कुशासन र बढ्दो असन्तोषका कारण पार्टीले ‘मूकदर्शक’ भएर बस्न नमिल्ने औंल्याएका छन् । ‘आजको संकट आउनुमा कतै हाम्रो विगतका नीति, निर्णय र कामकारबाही जिम्मेवार त छैनन् ?’ भन्दै उनीहरूले कठोर आत्मसमीक्षा आवश्यक भएको बताएका छन् । साथै, विगतका गल्तीहरूप्रति आम देशवासीसँग क्षमा माग्न नेतृत्वलाई सुझाव दिएका छन् ।

वक्तव्यमा पार्टी विधानको धारा १७(२) बमोजिम विशेष महाधिवेशन प्रक्रियामा जाने निर्णय गरिएको उल्लेख छ । ‘केन्द्रीय समितिबाट महाधिवेशन आह्वान हुने सम्भावना क्षीण भएकाले हामी महाधिवेशन प्रतिनिधिहरू आफ्नै अधिकार प्रयोग गर्दै तयारीमा लागेका छौँ,’ विज्ञप्तिमा भनिएको छ ।

गुरुराज घिमिरे, जनकराज गिरी, रामपल्टन साह, सुरज काप्ले, मेदनी सिटौला, प्रविण ओझा, दिक्पाल शाही, युवराज पाण्डे, टीका गुरुङ, कृष्ण रिजाल, ऋषिकेश तिवारी, युवराज भट्टराई, बीरबहादुर राना, सुरेन्द्रराज आचार्य, मुकेश घिमिरे, देवराज चालिसे, तारानाथ दाहाल, विनोद खनाल, रुद्र कन्दङ्वा, कुमार लुइँटेललगायत महाधिवेशन प्रतिनिधिहरूले संयुक्त वक्तव्य निकाल्दै विशेष महाधिवेशनमार्फत् पार्टीलाई संकटबाट निकाल्नुपर्नेमा जोड दिएका छन् ।

 



अगुल्टो अगुल्टो   
  • २०८२ आश्विन ७, मंगलवार ११:४२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP