मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

कम्युनिष्ट आन्दोलनका अगुवा पुष्पलालको ४७औँ स्मृति दिवस, देशभर श्रद्धासुमन अर्पण

2.6K
SHARES
कम्युनिष्ट आन्दोलनका अगुवा पुष्पलालको ४७औँ स्मृति दिवस, देशभर श्रद्धासुमन अर्पण

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४७औँ स्मृति दिवस आज मुलुकभर विविध कार्यक्रमसहित मनाइँदैछ । नेकपा एमाले, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) लगायतका कम्युनिष्ट दलहरू तथा विभिन्न वामपन्थी संघ–संस्थाले पुष्पलालको योगदानको स्मरण गर्दै श्रद्धाञ्जली अर्पण गर्दैछन् ।

वि.सं. १९८१ साल असार १५ गते रामेछापको भँगेरीमा जन्मिएका पुष्पलालले नेपाली कम्युनिष्ट आन्दोलनको जग बसालेका थिए । उनले कार्ल मार्क्स र फ्रेडरिक एङ्गेल्सको ‘कम्युनिष्ट म्यानिफेस्टो’लाई पहिलो पटक नेपालीमा अनुवाद गरे । यिनै लेख र वैचारिक विश्लेषणमार्फत उनले नेपाली समाजको वर्गीय संरचना र उत्पीडनप्रति चेतना जगाउँदै ‘नौलो जनवाद’को अवधारणा अघि सारेका थिए ।

वि.सं. २००६ साल वैशाख १० गते भारतको कलकत्तास्थित श्यामबजारमा रहेको एक बङ्गाली घरमा उनले नेपाल कम्युनिष्ट पार्टीको औपचारिक घोषणा गरेका थिए । पार्टी स्थापना गर्दा उनसँगै नरबहादुर कर्माचार्य, नीरञ्जनगोविन्द वैद्य, नारायणविलास जोशी र मोतीदेवी श्रेष्ठ पनि थिए ।

नेताहरूको दृष्टिमा पुष्पलाल
एमाले स्थायी कमिटी सदस्य मुकुन्द न्यौपानेका अनुसार पुष्पलालले नेपालको कम्युनिष्ट आन्दोलनलाई एकीकृत गर्दै व्यापक बनाउने आधार तयार गरेका थिए । ‘२०२७ सालमै पुष्पलालले प्रजातन्त्र पुनःस्थापनाका लागि नेपाली कांग्रेससँग कार्यगत एकता आवश्यक छ भनेका थिए, तर हामी उग्रपन्थी भएर उनलाई दक्षिणपन्थी भन्दै आलोचना गथ्यौँ,’ उनले स्मरण गरे । न्यौपानेका अनुसार २०४६ सालको आन्दोलनसम्म आइपुग्दा पुष्पलालको विचार सन्दर्भ योग्य ठहरियो र त्यो नै परिवर्तनको आधार बन्यो ।
माओवादी केन्द्रका सचिव राम कार्कीले पुष्पलाललाई नेपालको कम्युनिष्ट आन्दोलनका प्रवर्तकका रूपमा स्मरण गरे । ‘उहाँले नेपालका सामाजिक संरचना, वर्ग र शोषणको सन्दर्भमा सैद्धान्तिक दृष्टिकोण स्थापित गर्नुभएको हो,’ उनले भने । कार्कीका अनुसार पुष्पलालकै विचारमा कम्युनिष्ट र कांग्रेस मिलेर प्रजातन्त्र ल्याउने संकल्प थियो, जुन पछि व्यवहारमा परिणत भयो ।

नेकपा (एकीकृत समाजवादी) का नेता डा. बेदुराम भुसालले पुष्पलाललाई पार्टी एकताको आधार व्यक्तित्व माने । ‘वर्तमानमा देखिएको विभाजनलाई अन्त्य गरेर एकताबद्ध कम्युनिष्ट आन्दोलन निर्माण गर्न सके मात्र उहाँप्रति साँचो श्रद्धाञ्जली हुनेछ,’ उनले भने ।

स्मृति दिवसको अवसरमा विविध कार्यक्रम
पुष्पलालको ४७औँ स्मृति दिवसको अवसरमा नेकपा (एकीकृत समाजवादी) ले कीर्तिपुर–४ चम्पादेवीस्थित पुष्पलाल उद्यानमा श्रद्धाञ्जलीसभा, अन्तरक्रिया कार्यक्रम र ग्रन्थ विमोचनको आयोजना गरेको छ । पार्टीले देशभरका सबै जिल्ला कमिटीहरूलाई पनि विभिन्न कार्यक्रममार्फत दिवस मनाउन निर्देशन दिएको छ ।

राजनीतिक यात्राको प्रेरणा दाजु गंगालालबाट
वि.सं. १९९७ मा राणाशासन विरोधी अभियानमा संलग्न भएकाले उनका दाजु गंगालाललाई गोली हानी हत्या गरिएको थियो । त्यस घटनाले प्रेरित भएर पुष्पलालले राजनीतिक जीवन सुरु गरेका थिए । तर, उनको आफ्नै जीवन भने २०३५ साल साउन ७ गते भारतको गोविन्दवल्लभ पन्त अस्पतालमा उपचारका क्रममा टुंगिएको थियो । त्यतिबेला सत्तारुढ पञ्चायती शासनले उनको शव नेपाल ल्याउन समेत अनुमति दिएको थिएन ।



अगुल्टो अगुल्टो   
  • २०८२ श्रावण ७, बुधबार ०५:१३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP