मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

प्रधानमन्त्री ओलीको स्पेन यात्राः यस्तो छ भ्रमणको रूपरेखा

2.5K
SHARES
प्रधानमन्त्री ओलीको स्पेन यात्राः यस्तो छ भ्रमणको रूपरेखा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेपाली प्रतिनिधिमण्डल आगामी शनिबार स्पेन प्रस्थान गर्ने तयारीमा रहेको छ । प्रधानमन्त्री ओलीले असार १६ देखि १९ गतेसम्म आयोजना हुने ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलन’मा सहभागी भई स्पेनको औपचारिक भ्रमण गर्ने कार्यक्रम रहेको छ ।

भ्रमणको सम्पूर्ण तयारी पूरा भइसकेको र त्यहाँस्थित नेपाली समुदाय स्वागतका लागि उत्साहित रहेको स्पेनस्थित नेपाली राजदूत शनिल नेपालले जानकारी दिएका छन् ।

यस भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले स्पेनका प्रधानमन्त्रीसँग द्विपक्षीय वार्ता गर्नेछन् । त्यस अवसरमा नेपाल र स्पेनबीच सहयोग तथा सम्बन्ध विस्तारका विषयमा महत्वपूर्ण सम्झौतामा हस्ताक्षर हुने अपेक्षा गरिएको छ ।

प्रधानमन्त्रीले भ्रमण अवधिभर स्पेनमा बसोबास गर्ने नेपाली समुदायका प्रतिनिधिहरूसँग अन्तरक्रिया गर्नुका साथै स्थानीय उद्योगी–व्यवसायीसँग पनि छलफल गर्ने कार्यक्रम रहेको छ । साथै सम्मेलनकै अवसरमा अन्य राष्ट्र नेताहरूसँग द्विपक्षीय भेटघाट हुने दूतावासले जनाएको छ ।

स्पेनः युरोपको सांस्कृतिक र खेलकुद समृद्ध राष्ट्र
पश्चिम युरोपमा अवस्थित स्पेन संसदीय लोकतन्त्र र संवैधानिक राजतन्त्रात्मक शासन प्रणालीमा आधारित राष्ट्र हो । ५ लाख ५ हजार ९९० वर्ग किलोमिटर क्षेत्रफल फैलिएको यो देशमा करिब ४ करोड ७४ लाख जनसंख्या छ ।

सन् १९८६ मा युरोपेली संघमा सामेल भएको स्पेनले १९९५ मा सेन्जेन क्षेत्रको सदस्यता पाएको हो । यहाँको जनसांख्यिक बनोटमा ८४ प्रतिशत स्पेनिस, १.७ प्रतिशत मोरक्कन, १.२ प्रतिशत रोमानियन र बाँकी अन्य जातीय समुदाय रहेका छन् ।

फुटबलप्रति गहिरो रुचि राख्ने स्पेनमा २० हजारभन्दा बढी फुटबल क्लब छन् भने १० लाखभन्दा धेरै दर्ता गरिएका खेलाडी छन् । भाषा पक्षमा हेर्दा स्पेनिस विश्वकै चौथो सबैभन्दा बढी बोलिने भाषा हो ।

नेपाल–स्पेन सम्बन्धको पृष्ठभूमि
नेपाल र स्पेनबीच कूटनीतिक सम्बन्ध सन् १९६८ मा स्थापना भए तापनि सन् २०१८ मा मात्र म्याड्रिडमा नेपाली आवासीय दूतावास सञ्चालनमा आएको हो । स्पेनको नेपालस्थित दूतावास भने अझै खुलेको छैन र नेपालसम्बन्धी कार्यभार दिल्लीस्थित दूतावासबाट सञ्चालित हुँदै आएको छ ।

हाल स्पेनमा करिब २० हजार नेपाली नागरिक विभिन्न क्षेत्रमा संलग्न छन् । उनीहरू प्रायः कृषि, होटल, निर्माण र पर्यटन क्षेत्रसँग आबद्ध छन् ।

विगतमा पनि नेपाल–स्पेनबीच उच्चस्तरीय भ्रमणको आदानप्रदान हुँदै आएको छ । सन् १९८३ मा राजा वीरेन्द्रले स्पेन भ्रमण गरेका थिए भने राजा कार्लोसले १९८७ मा नेपाल भ्रमण गरेका थिए । त्यस्तै, सन् २०१६ मा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले द्वन्द्वपीडित विषयमा आयोजित सम्मेलनमा सहभागी भएका थिए । सन् २०१९ मा सञ्चारमन्त्री गोकुल बास्कोटा र सन् २०२१ मा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पनि स्पेन भ्रमण गरेका थिए ।

भण्डारीको भ्रमणका क्रममा जलवायु परिवर्तन र पर्यटन क्षेत्रमा दुई देशबीच सहकार्य गर्ने समझदारीमा हस्ताक्षर भएको थियो । वैदेशिक रोजगारको सम्भावनाका हिसाबले स्पेन नेपालीहरूको लागि नयाँ गन्तव्य बन्न थालेको छ ।

पर्यटनको आकर्षण र सम्भावना
स्पेन विश्वकै चर्चित पर्यटकीय गन्तव्यहरूमध्ये एक हो, जहाँ हरेक वर्ष झन्डै १२ करोड पर्यटक पुग्ने तथ्याङ्क छ । नेपालतर्फ हेर्दा सन् २०१८ मा १९ हजार ५६३ स्पेनिस पर्यटक नेपाल आएका थिए, यद्यपि कोभिड–१९ पछि ती सङ्ख्यामा केही कमी आएको छ ।

नेपालको प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता र साहसिक गन्तव्यहरू स्पेनिस पर्यटकलाई आकर्षित गर्ने बलियो सम्भावना बोकेको छ । ध्यान, योग र आध्यात्मिक अनुभवका लागि पनि नेपाल उपयुक्त गन्तव्य हो भन्ने छवि विश्वभर फैलिँदै गएको छ ।

प्रधानमन्त्रीको यो भ्रमणले नेपालको पर्यटन प्रवर्द्धन, वैदेशिक सम्बन्ध सुदृढीकरण र आर्थिक सहकार्य विस्तारका क्षेत्रमा नयाँ अवसरहरू सिर्जना गर्ने अपेक्षा गरिएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ असार १२, बिहीबार ०५:११
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP