मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

दार्चुलामा सीमा तनाव: हत्या प्रकरणपछि महाकाली झोलुंगे पुल भारतीय पक्षबाट बन्द

2K
SHARES
दार्चुलामा सीमा तनाव: हत्या प्रकरणपछि महाकाली झोलुंगे पुल भारतीय पक्षबाट बन्द

दार्चुला । पछिल्लो समय नेपाल–भारत सीमामा फेरि एकपटक तनाव देखिएको छ । भारतको धारचुलामा एक भारतीय नागरिकको हत्या भएपछि सो घटनासँग सम्बन्धित व्यक्तिहरू नेपाल प्रवेश गरेको आशंकामा भारतीय नागरिकहरूले महाकाली नदीमाथिको झोलुंगे पुल बन्द गरेका छन् । जसका कारण दार्चुला सदरमुकाम र भारतको धारचुलाबीचको दैनिक ओहोरदोहोर पूर्ण रूपमा ठप्प भएको छ ।

दार्चुलाका प्रमुख जिल्ला अधिकारी (सिडियो) अनिल पौडेलका अनुसार भारतीय धारचुलाका स्थानीयहरूले चर्को दबाबस्वरूप पुल बन्द गरेका हुन् । ‘हत्यामा संलग्न दुई जना नेपाल पसेको भन्ने अपुष्ट सूचना छ। उनीहरूलाई खोजी गरिरहेका छौं, तर अझै पत्ता लागेको छैन,’ उनले बताए । उनले यो निर्णय भारत सरकारबाट नभई स्थानीय नागरिकहरूको स्वतःस्फूर्त कदम भएको स्पष्ट पारे ।

भारतको धारचुलामा जुन ७ तारिख कमलेश दानुको चक्कु प्रहारबाट हत्या भएको थियो । यो घटनाले स्थानीय अनुवाल समुदायमा व्यापक आक्रोश फैलाएको छ । समुदायका अध्यक्ष गुमान सिंह विष्टको नेतृत्वमा एक प्रतिनिधिमण्डलले पिथौरागढका उपजिल्ला अधिकारी मनजित सिंहलाई ज्ञापनपत्र बुझाउँदै हत्यामा संलग्नलाई तत्काल कारबाही गर्न माग गरेका थिए । साथै, दोषीलाई नपक्रिएसम्म सीमावर्ती पुल बन्द गर्ने चेतावनीसमेत दिएका थिए ।

त्यसयता भारतीय नागरिकहरू विहान ११ बजेदेखि निरन्तर प्रदर्शनमा छन् । केही समयका लागि पुल खुलाइएको भए पनि फेरि बन्द गरिएको छ । यस्ता घटनाले स्थानीय जनजीवन मात्र होइन, दुई देशबीचको ‘ग्रासरुट’ सम्बन्धलाई समेत असर पार्न थालेको संकेत देखिन्छ ।

पुल बन्दसँगै दार्चुला र धारचुलाबीचको आवतजावत, व्यापार, औषधि आपूर्ति, अध्ययन र उपचारका लागि गर्ने यात्रामा प्रत्यक्ष असर परेको छ । दार्चुलामा बस्ने धेरै नेपाली नागरिकहरू दैनिक उपभोग्य वस्तुका लागि धारचुला जाने गर्छन् भने भारततर्फका नागरिकहरू पनि नेपालतर्फ सहजै आउजाउ गर्छन् ।

सिडियो पौडेलका अनुसार भारतीय धारचुलाका डिस्ट्रिक्ट मजिस्ट्रेटसँग पुल खुलाउनेबारे समन्वय भइरहेको छ । तर यस्तो विषय कूटनीतिक तहमा जानुपर्ने भन्दै स्थानीय प्रशासनले संयमित ढंगबाट वार्ता गरिरहेको बताइएको छ । घटनाले सीमावर्ती क्षेत्रमा सूचनाको पारदर्शिता, अन्तरदेशीय अपराध नियन्त्रण, र दुवै मुलुकबीच समन्वय यन्त्रको आवश्यकता पुनः देखाएको छ ।

स्थानीय जनस्तरमा चुलिएको आक्रोश नियन्त्रणमा लिनु प्रशासनका लागि चुनौती बनेको छ । भारतमा हत्या भएको भए पनि नेपालको नाम जोडिनुले नेपालका लागि पनि कानुनी र कूटनीतिक दृष्टिकोणबाट संवेदनशीलता बढेको देखिन्छ । अहिलेको मुख्य प्राथमिकता भनेको सम्भावित आरोपीको पहिचान, यथाशीघ्र कारबाही र सीमा सहजता पुनः स्थापनामा केन्द्रित छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ असार २, सोमबार ११:३४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP