मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

बेत्रावतीमा बाढीको कहालीलाग्दो दृश्य: एउटै घरबाट २३ शव, आमाको काखमै भेटिइन् बालिका

377
SHARES
बेत्रावतीमा बाढीको कहालीलाग्दो दृश्य: एउटै घरबाट २३ शव, आमाको काखमै भेटिइन् बालिका

काठमाडौं । त्रिशूली नदी किनारमा रहेको नुवाकोटको विदुर नगरपालिका–१० बेत्रावती भोटेकोसी बाढीको कहालीलाग्दो घटनापछि शोकमा डुबेको छ । गत बुधबार भोटेकोसी हुँदै आएको भीषण बाढीले बेत्रावतीमा ठूलो क्षति पुर्‍याएपछि अहिले उद्धार र शव खोजीको काम चुनौतीपूर्ण बनेको छ ।

बाढीले लेदो र भग्नावशेषले पुरिएको तीनतले घरको माथिल्लो भागबाट उद्धारकर्मीहरूले २३ जनाको शव फेला पारेका छन् । एउटै कोठाभित्र २१ र बाहिरपट्टि दुई शव भेटिएका हुन् ।

उद्धारमा संलग्न सुरक्षाकर्मीका अनुसार बाढीको पानी र लेदो तीव्र गतिमा घरभित्र पस्न थालेपछि ज्यान जोगाउन मानिसहरू माथिल्लो तलातर्फ भागेका थिए । पहिलो र दोस्रो तला डुबेपछि उनीहरू अन्ततः माथिल्लो कोठामा जम्मा भएका थिए । तर बाढी र लेदोको चपेटाबाट उनीहरू उम्कन सकेनन् ।

उद्धारका क्रममा भेटिएको दृश्यले सुरक्षाकर्मीसमेत भावुक बनेका थिए । एउटा आमाले आफ्नी सानी छोरीलाई काखमा च्यापेर अँगालो मारिरहेकै अवस्थामा ज्यान गुमाएको अवस्थामा शव फेला परेको उद्धारकर्मीहरूले बताएका छन् । बाढीबाट जोगिन अन्तिम क्षणसम्म एकअर्कालाई समातेर बसेको देखिनुले घटनाको भयावहता झनै स्पष्ट पारेको छ ।

फेला परेका शवसँग यात्रुका झोला तथा अन्य सामग्रीसमेत भेटिएका छन् । त्यसका आधारमा मृतकमध्ये धेरैजसो तीर्थयात्री वा पर्यटक हुनसक्ने अनुमान गरिएको छ । उनीहरू गोसाइँकुण्ड दर्शन तथा भ्रमणका लागि त्यस क्षेत्रमा पुगेको हुनसक्ने देखिएको छ ।

फेला परेका शवमध्ये एक जना विदेशी नागरिकको हुनसक्ने आशंका गरिएको छ । तर हालसम्म सबै शवको पहिचान भने खुल्न सकेको छैन । शवको पहिचान हुन नसक्दा आफन्तको खोजीमा रहेका परिवार थप पीडामा परेका छन् ।

उद्धार टोलीले सोमबार साँझसम्म आठ शवलाई कठिन प्रयासपछि घरबाट बाहिर निकालेर त्रिशूली अस्पताल पुर्‍याएको थियो । बाँकी शव अझै घरको माथिल्लो भागमा रहेको बताइएको छ । ती शव निकालेर अस्पताल पुर्‍याउने र आवश्यक प्रक्रिया पूरा गर्ने काम अघि बढाउने तयारी गरिएको छ ।

बेत्रावतीमा भएको यो घटनाले भोटेकोसी बाढीले निम्त्याएको मानवीय क्षतिको भयावह तस्वीर प्रस्तुत गरेको छ । केही क्षणमै उर्लिएको बाढीले आश्रयका लागि एउटै घरमा जम्मा भएका २३ जनाको जीवन खोसिदिएको घटनाले स्थानीय मात्र होइन, सिंगो देशलाई शोकमा डुबाएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८३ भाद्र १६, मंगलवार ०८:००
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP