मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

बाढी–पहिरो प्रभावित नेपाललाई चीनको आपतकालीन सहयोग, उद्धार विज्ञसहित दुई सैन्य विमान काठमाडौंमा

780
SHARES
बाढी–पहिरो प्रभावित नेपाललाई चीनको आपतकालीन सहयोग, उद्धार विज्ञसहित दुई सैन्य विमान काठमाडौंमा

काठमाडौं । विनाशकारी रसुवा बाढीका कारण ठूलो जनधनको क्षति व्यहोरिरहेको नेपाललाई चीनले आपतकालीन राहत सामग्रीसहित प्राविधिक सहयोग उपलब्ध गराएको छ । चीनले राहत सामग्री र सुरुङ उद्धारमा विशेषज्ञता हासिल गरेका विज्ञहरूको टोली नेपाल पठाएको हो ।

चिनियाँ वायुसेनाका दुईवटा ‘वाई–२०’ सैनिक विमान आइतबार बिहान काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका छन् । विमानमार्फत राहत सामग्रीसँगै उद्धार कार्यमा प्रयोग हुने अत्याधुनिक उपकरणहरू नेपाल ल्याइएको छ ।

विमानस्थलमा आयोजित विशेष कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत जाङ माओमिङले चीनबाट ल्याइएका राहत सामग्री नेपाल सरकारलाई हस्तान्तरण गरे । नेपाल सरकारका तर्फबाट विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन र संघीय संसद् सदस्य धर्म केसीले सामग्री बुझेका थिए ।

सो अवसरमा नेपाल आएका चिनियाँ उद्धार विज्ञहरूलाई समेत स्वागत गरिएको थियो । बाढीका कारण विभिन्न जलविद्युत् आयोजनाका सुरुङमा मानिसहरू फसेको तथा केही बेपत्ता रहेको विवरण सार्वजनिक भइरहेका बेला चीनले विशेष सुरुङ उद्धार टोली नेपाल पठाएको हो ।

चीनबाट चार जना सुरुङ उद्धार विशेषज्ञ आएका छन् । उनीहरूसँग सुरुङभित्र फसेका व्यक्तिको खोजी तथा उद्धारका लागि आवश्यक आधुनिक उपकरणसमेत ल्याइएको बताइएको छ । नेपाली उद्धार टोलीसँग समन्वय गरी उनीहरूले प्रभावित क्षेत्रमा खोज तथा उद्धारमा सहयोग गर्नेछन् ।

चिनियाँ राजदूत माओमिङले विपद्को यस कठिन समयमा चीन नेपालसँगै रहेको बताएका छन् । चीनको सहयोगले बाढी तथा पहिरो प्रभावितको जीवन रक्षा, खोज तथा उद्धार र राहत कार्यमा महत्वपूर्ण योगदान पुग्ने विश्वास उनले व्यक्त गरे ।

मन्त्री महावीर पुनले विपद्को समयमा छिमेकी मुलुक चीनले उपलब्ध गराएको सहयोगप्रति आभार व्यक्त गरे । विशेषगरी उद्धारका लागि प्राविधिक विज्ञ र अत्याधुनिक उपकरणसहित टोली पठाएकोमा उनले चीन सरकारलाई धन्यवाद दिएका छन् ।



अगुल्टो अगुल्टो   
  • २०८३ भाद्र १४, आईतवार ०५:१०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP