मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अविरल वर्षाले देशभरका राजमार्ग प्रभावित, बाढी–पहिरोले धेरै सडक बन्द

819
SHARES
अविरल वर्षाले देशभरका राजमार्ग प्रभावित, बाढी–पहिरोले धेरै सडक बन्द

काठमाडौं । लगातारको वर्षापछि आएको बाढी र पहिरोका कारण देशका विभिन्न भागका प्रमुख राजमार्ग प्रभावित भएका छन् । कतिपय सडक पूर्ण रूपमा अवरुद्ध भएका छन् भने केही सडकखण्डमा एकतर्फी रूपमा मात्रै सवारी सञ्चालन भइरहेको छ ।

सडक विभागका अनुसार २०८३ असोज २९ गते बिहान ६ः३० बजेसम्म देशका विभिन्न प्रदेशका राजमार्गमा वर्षाजन्य विपद्को प्रभाव देखिएको छ । निरन्तर वर्षासँगै सडक भासिने, पहिरो खस्ने र खोलामा आएको बाढीले डाइभर्सन बगाउँदा यातायात सेवा प्रभावित बनेको हो ।

सिन्धुपाल्चोकको कोदारी क्षेत्रमा सडक भासिएपछि केही समय अवरुद्ध भएको सडक भने पुनः सञ्चालनमा आएको छ । भोटेकोशी गाउँपालिका–२ का वडाध्यक्ष कुमार श्रेष्ठका अनुसार आवश्यक मर्मतपछि उक्त सडकमा सवारी आवागमन पुनः सुचारु गरिएको छ ।

कोशी प्रदेशमा भोजपुरको मध्यपहाडी लोकमार्गअन्तर्गत भोजपुर नगरपालिका–५ बोखिम क्षेत्रमा एकतर्फी रूपमा मात्रै सवारी सञ्चालन भइरहेको छ । इलामको मेची राजमार्गअन्तर्गत इलाम नगरपालिका–९ राजदुवाली क्षेत्रमा भने सडक पूर्ण रूपमा बन्द छ । तिल्केनी–सिमलगोला सडकको जोगमाई तथा इलाम–बेलासी सडकखण्डको पुवाखोला डाइभर्सन बाढीले बगाएपछि यातायात पूर्ण रूपमा प्रभावित भएको छ ।

बागमती प्रदेशमा काभ्रेको बीपी राजमार्ग र मकवानपुरको कान्तिलोकपथ पूर्ण रूपमा अवरुद्ध छन् । नेपाल प्रहरीले सिन्धुपाल्चोकस्थित अरनिको राजमार्ग पनि अवरुद्ध रहेको जनाएको छ । यद्यपि स्थानीय जनप्रतिनिधिहरूका अनुसार वर्षाको अवस्थाअनुसार सडक खुल्ने र पुनः बन्द हुने क्रम जारी छ ।

गण्डकी प्रदेशमा कास्कीको पोखरा–ताउतिङ सडकखण्ड पहिरोका कारण पूर्ण रूपमा बन्द भएको छ ।

त्यसैगरी लुम्बिनी प्रदेशका रोल्पा, अर्घाखाँची र गुल्मीका विभिन्न सडकखण्डमा पनि यातायात सञ्चालन ठप्प भएको छ । पाल्पाको सिद्धार्थ राजमार्गमा भने सावधानीका साथ एकतर्फी रूपमा सवारी सञ्चालन भइरहेको छ ।

नेपाल प्रहरीले वर्षा अझै जारी रहेकाले अत्यावश्यक कामबाहेक जोखिमयुक्त सडकमा यात्रा नगर्न आग्रह गरेको छ । यात्रामा निस्कनुअघि सम्बन्धित निकायबाट सडकको पछिल्लो अवस्थाबारे जानकारी लिन, वैकल्पिक मार्ग प्रयोग गर्न तथा बाढी र पहिरोको उच्च जोखिम रहेका क्षेत्रमा विशेष सतर्कता अपनाउन पनि अनुरोध गरिएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८३ असार २९, सोमबार ०४:३८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP