मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेमनाथको राष्ट्रिय भावले भरिपूर्ण गीत ‘बुद्धको देश नेपाल’ सार्वजनिक

2.5K
SHARES
खेमनाथको राष्ट्रिय भावले भरिपूर्ण गीत ‘बुद्धको देश नेपाल’ सार्वजनिक

काठमाडौं । आइतबार काठमाडौंमा आयोजित एक विशेष समारोहमा महाकाव्यकार खेमनाथ दाहालको राष्ट्रियता झल्किने गीत ‘बुद्धको देश नेपाल’ को भिडियो विमोचन गरिएको छ । नेपाल संस्कृत विश्वविद्यालयका कुलपति प्रा.डा. कुलप्रसाद कोइरालाको प्रमुख आतिथ्यमा तथा वरिष्ठ पत्रकार एवं साहित्यकार पुरुषोत्तम दाहालको सभापतित्वमा गीतको भिडियो सार्वजनिक गरिएको हो ।

गीतमा कीर्तिमानी संगीतकार सन्तोष श्रेष्ठले स्वर तथा संगीत दिएका छन् । यो गीत दाहालको ‘श्वेतपत्र’ महाकाव्यबाट सङ्ग्रह गरी तयार पारिएको हो । राजु कार्कीले संगीत संयोजन गरेका यस गीतमा एसबी मुस्कान संगीत सञ्चयक र प्रकाश मिश्र संगीत सम्पादक रहेका छन् । अकस्टिक स्टुडियोमा रेकर्ड गरिएको भिडियोमा खेमनाथ दाहाल, उषा दाहाल, सन्तोष श्रेष्ठ र कृष्ण भुसाल फिचरिङ छन् । भिडियोको छायांकन तथा सम्पादन राजन खरेलले गरेका हुन् भने दृश्य सम्पादन कक्ष कलिउड हवले गरेका हुन् ।

मिलाप मासिकको आयोजना र चलचित्र विकास बोर्डका सदस्य गणेश सुवेदीको सहजीकरणमा सम्पन्न कार्यक्रममा कृष्ण भुसालले स्वागत मन्तव्य राख्दै संगीतकार श्रेष्ठको साहित्यलाई संगीतमा रूपान्तरण गर्ने विशेष योगदानको चर्चा गरे । संगीतकार श्रेष्ठले गीत तयार पार्न कडा मेहनत गरेको बताउँदै भविष्यमा ‘श्वेतपत्र’बाट थप गीत सार्वजनिक गर्ने तयारी रहेको जानकारी दिए ।

महाकाव्यकार दाहालले ‘श्वेतपत्र’ महाकाव्यप्रति विभिन्न प्रतिक्रिया आएको उल्लेख गर्दै कतिपय ठाउँमा आलोचना भोग्नु परेको सुनाए । वरिष्ठ संगीतकार राजु सिंहले साहित्य र संगीतको मेललाई सफलतापूर्वक अघि बढाएकोमा कलाकारहरूलाई बधाई दिए ।

साहित्यकार डा. अम्बिका अर्यालले ‘श्वेतपत्र’ले नेपाल, सिक्किम र भुटानबीचको सांस्कृतिक संवाद स्थापित गरेको बताउँदै अझ गहिरो छलफल आवश्यक रहेको सुझाव दिए । प्राध्यापक ज्ञाननिष्ठ ज्ञवालीले ‘श्वेतपत्र’लाई दाहालको उत्कृष्ट कृति रूपमा वर्णन गरे भने गीतकार संघका अध्यक्ष वसन्त वित्यासी थापाले दाहाललाई गीतकारका रूपमा बधाई दिए । गजलकार घनेन्द्र ओझाले गजल साहित्यको वर्तमान अवस्था र स्वर्ण युगको विषयमा आफ्ना विचार प्रस्तुत गरे ।

डा. यज्ञेश्वर निरौलाले दाहालका विविध कृतिहरूको परिचय दिँदै ‘श्वेतपत्र’बाट लिइएको गीत ह्रस्व(दीर्घ नियमअनुसार राम्रो गायन भएको बताउँदै प्रशंसा गरे । प्रमुख अतिथि प्रा.डा. कोइरालाले विद्रोही चेतनाको उत्कृष्ट महाकाव्य ‘श्वेतपत्र’ र उपन्यास ‘अहोरात्र’लाई विशेष कृति भएको बताए ।

कार्यक्रमका सभापति पुरुषोत्तम दाहालले दाहालसँगको लामो सम्बन्ध र साहित्यमा उहाँको योगदानको चर्चा गर्दै गीत र भिडियो दुवै राम्रो बनेको भन्दै शुभकामना दिए । ‘श्वेतपत्र’मा ४५ भन्दा बढी प्रज्ञाहरूले समालोचना गरिसकेको उल्लेख पनि गरिएको थियो ।

सो अवसरमा साहित्यकार लेखनाथ पोख्रेल, डा. बुनु दाहाल, वरिष्ठ कलाकार उत्तम केसी, समाजसेवी भुपेन्द्र कार्की, चलचित्र जाचपास सदस्य कुवेर गिरी, गीतकार गीता अधिकारी, वरिष्ठ पत्रकार सानुकाजी श्रेष्ठ, कृष्णराज गौतम लगायतका विशिष्ट व्यक्तित्वको पनि उपस्थिति रहेको थियो ।



अगुल्टो अगुल्टो   
  • २०८२ श्रावण २६, सोमबार ०७:०१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP