मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राप्रपा नछाड्न पूर्वअध्यक्षहरूको आग्रह, ‘एकता कायम राखेर अघि बढौँ’

611
SHARES
राप्रपा नछाड्न पूर्वअध्यक्षहरूको आग्रह, ‘एकता कायम राखेर अघि बढौँ’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का तीन पूर्वअध्यक्षले पार्टीभित्र देखिएको असन्तुष्टि र विभाजनको चर्चाबीच नेता–कार्यकर्तालाई पार्टी नछाड्न आग्रह गरेका छन् । पूर्वअध्यक्षहरू पशुपति शमशेर राणा, डा. प्रकाशचन्द्र लोहनी तथा कमल थापाले शनिबार संयुक्त अपिल जारी गर्दै अहिलेको संवेदनशील अवस्थामा पार्टी त्याग्नु उचित नहुने बताएका हुन् ।

उनीहरूले पार्टी जीवनमा उतारचढाव स्वाभाविक रहेको उल्लेख गर्दै कठिन परिस्थितिमा पनि सिद्धान्तप्रतिको प्रतिबद्धता कायम राख्नुपर्ने बताएका छन् । संयुक्त वक्तव्यमा पार्टीबाट पलायन हुनु समाधान नभई संगठनलाई कमजोर बनाउने कदम हुने भन्दै सबैलाई संयमित र एकजुट रहन आग्रह गरिएको छ ।

हाल राप्रपाका महामन्त्री डा. धवल शमशेर राणासहित केही नेताहरू पार्टी छोड्न सक्ने चर्चा चलिरहेका बेला पूर्वअध्यक्षहरूको यो अपिल आएको हो । उनीहरूले पार्टीभित्रका चुनौती र कमजोरीलाई संगठनभित्रै समाधान गर्नुपर्ने धारणा व्यक्त गरेका छन् ।

फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको नतिजाप्रति निराश नहुन आग्रह गर्दै उनीहरूले पार्टी एकता बलियो बनाएर स्पष्ट कार्ययोजनासहित अघि बढे निकट भविष्यमै राम्रो परिणाम हासिल गर्न सकिने विश्वास व्यक्त गरेका छन् ।

पूर्वअध्यक्षहरूले हिन्दूराष्ट्र र राजसंस्थाको पुनर्स्थापनाको एजेन्डालाई अघि बढाउन राप्रपा आवश्यक रहेको जिकिर गर्दै पार्टीको भविष्यप्रति आशावादी हुन कार्यकर्तालाई आग्रह गरेका छन् ।

उनीहरूका अनुसार आगामी महाधिवेशनमार्फत पार्टीभित्र देखिएका समस्या, विकृति तथा चुनौतीहरूको समाधान खोजिनेछ । केन्द्रीय कार्यसम्पादन समितिले महाधिवेशनको मिति तय गर्ने निर्णय गरिसकेको भन्दै निर्धारित समयमै महाधिवेशन सम्पन्न हुने विश्वास पनि व्यक्त गरिएको छ ।

संयुक्त वक्तव्यमा २०४७ साल जेठ १५ गते राष्ट्रवादी र प्रजातान्त्रिक शक्तिको रूपमा राप्रपाको स्थापना भएको स्मरण गराउँदै वर्तमान राष्ट्रिय चुनौतीको सामना गर्न पार्टीलाई थप सुदृढ बनाउनु आवश्यक रहेको उल्लेख गरिएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८३ जेष्ठ १७, आईतवार ००:३१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP