मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

ईद उल फित्र: नमाज, दान र आपसी सद्भावका साथ मनाइँदै

520
SHARES
ईद उल फित्र: नमाज, दान र आपसी सद्भावका साथ मनाइँदै

काठमाडौं । हिजरी संवतअनुसार नवौँ महिनाभर रोजा (व्रत) बसेपछि मुस्लिम समुदायले आज देशभर विशेष नमाज अदा गर्दै ईद उल फित्र पर्व मनाइरहेका छन् । बिहान नमाजपछि आफन्त तथा ठूलाबडाकहाँ गई आशीर्वाद लिने र सानालाई माया तथा आशीर्वाद दिने परम्परा यस पर्वको विशेषता हो ।

ईदको अवसरमा सेवई, खजुर लगायतका मिठा परिकार बनाएर आफन्त र पाहुनालाई सत्कार गर्ने चलन छ । साथै, दीन-दुःखी तथा गरिबलाई दान दिने भएकाले यस पर्वलाई दयाभाव र सहकार्यको प्रतीकका रूपमा पनि लिइन्छ । अरबी पात्रोअनुसार रमजान महिनाको अन्तिम दिन चन्द्रमा देखिएपछि ईद मनाउने मिति तय गरिन्छ ।

काठमाडौंस्थित घण्टाघरको जामे मस्जिदसहित देशभरका मस्जिद र इदगाहमा विशेष कार्यक्रमका साथ नमाज अदा गरिएको छ । नमाजपछि तीन दिनसम्म आफन्तजनबीच भेटघाट र शुभकामना आदानप्रदान गर्ने चलन रहिआएको छ ।

इस्लाम धर्मअनुसार, वार्षिक बचतको साढे दुई प्रतिशत हिस्सा जकातका रूपमा दान गर्नुपर्ने व्यवस्था छ । यसैगरी, प्रत्येक व्यक्तिले आफ्नो हैसियतअनुसार गहुँ वा बराबरको नगद दान गर्ने प्रचलन छ, जसलाई सदकातुल फितर भनिन्छ । यो दान गर्भमा रहेको शिशुको नाममा समेत दिनुपर्ने मान्यता छ ।

एक महिनासम्म सूर्योदयदेखि सूर्यास्तसम्म निराहार व्रत बसेर आत्मशुद्धि र पापमोचनका लागि रोजा बसिने गरिन्छ । ईदले त्यसैको समापनसँगै नयाँ सुरुआत र खुसीयालीको सन्देश दिन्छ ।

यस अवसरमा मुस्लिम समुदायका मानिसहरूले नयाँ लुगा लगाएर साथीभाइ र आफन्तसँग भेटघाट गर्दै शुभकामना साटासाट गर्छन् ।

राष्ट्रपतिको शुभकामना सन्देश
राष्ट्रपति रामचन्द्र पौडेलले ईद उल फित्रका अवसरमा सम्पूर्ण मुस्लिम समुदायलाई शुभकामना दिँदै विविधतामा एकता नै नेपाली राष्ट्रियताको आधार भएको बताएका छन् । उनले यस पर्वले आपसी समझदारी, दिगो शान्ति, भाइचारा र राष्ट्रिय एकतालाई थप मजबुत बनाउने विश्वास व्यक्त गरेका छन् ।

उनका अनुसार, ईदले रिस, द्वेष र मनमुटाव बिर्सेर आपसी सद्भाव र सहकार्यलाई प्रवर्द्धन गर्ने प्रेरणा दिन्छ । साथै, यस पर्वले सांस्कृतिक परम्पराको संरक्षण र विकासमा पनि महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ चैत्र ७, शनिबार ००:५९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP