मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

टी–२० विश्वकप: इटालीसँग नेपालको लज्जास्पद हार, ब्याटिङ र बलिङ दुवैमा कमजोर

871
SHARES
टी–२० विश्वकप: इटालीसँग नेपालको लज्जास्पद हार, ब्याटिङ र बलिङ दुवैमा कमजोर

काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटअन्तर्गत बिहीबार सम्पन्न खेलमा नेपालले इटालीसँग लज्जास्पद हार व्यहोरेको छ । १ सय २४ रनको सामान्य लक्ष्य दिएको नेपाल १० विकेटले पराजित भयो ।

नेपालले दिएको १२४ रनको लक्ष्य इटालीले ११ ओभर ४ बलमै कुनै विकेट नगुमाई सहज रूपमा पूरा गर्‍यो । इटालीका ओपनर एन्थोनी मोस्का र जस्टिन मोस्काले अविजित साझेदारी गर्दै टोलीलाई शानदार जित दिलाए ।

एन्थोनी मोस्काले ३२ बलमा ६२ रन बनाउँदै तीन चौका र छ छक्का प्रहार गरे । उनका भाइ जस्टिन मोस्काले ४४ बलमा ६० रन जोड्दा पाँच चौका र तीन छक्का प्रहार गरे । नेपाली बलरहरू मोस्का दाजुभाइलाई रोक्न पूर्ण रूपमा असफल देखिए ।

नेपालका बलिङतर्फ ललित राजवंशीले १ ओभरमा १९ रन खर्चिए भने नन्दन यादवले १ ओभरमा १२ रन दिए । करण केसीले २ ओभरमा २१ रन तथा सन्दीप लामिछानेले ३ ओभरमा ३१ रन खर्चिए । कुनै पनि बलरले विकेट लिन सकेनन् ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपाल १९ ओभर ३ बलमा १२३ रनमै समेटिएको थियो । इटालीका क्रिशन कालुगामेजले ३ विकेट लिए भने बेन मानेन्टीले २ विकेट हात पारे । अली हसन र जेजे स्मट्सले समान १–१ विकेट लिए ।

नेपालका लागि आरिफ शेखले सर्वाधिक २७ रन बनाए । उनले २४ बलमा तीन चौका प्रहार गरे। कप्तान रोहित पौडेलले १४ बलमा दुई छक्कासहित २३ रन जोडे भने आशिफ शेखले २० बलमा २० रन बनाए । ओपनर कुशल भुर्तेल भने १० बलमा ५ रन बनाएर सस्तोमा आउट भए ।

दीपेन्द्रसिंह ऐरी १३ ओभरको पाँचौं बलमा आउट हुँदा नेपाल ९६ रनमा थियो । त्यसपछि लोकेश बम र गुल्सन झा दुवै ३–३ रनमा आउट भए । करण केसीले ११ बलमा १८ रन बनाउँदै केही प्रतिकार गर्ने प्रयास गरे पनि टोलीलाई ठूलो स्कोरसम्म पुर्‍याउन सकेनन् ।

सुरुवाती क्रमका ब्याटरहरू लामो समय टिक्न नसक्दा नेपाल निरन्तर दबाबमा रह्यो । मध्यक्रमले जिम्मेवारी सम्हाल्न नसक्दा नेपाल सामान्य लक्ष्यमै सीमित हुन पुग्यो र अन्ततः बलिङमा पनि प्रभाव जमाउन नसक्दा एकतर्फी हार व्यहोर्न बाध्य भयो ।

लगातार दोस्रो हारसँगै नेपालको सुपर ८ पुग्ने सम्भावना लगभग सकिएको छ । नेपाल पहिलो खेलमा इंग्ल्यान्डसँग ४ रनले पराजित भएको थियो ।



अगुल्टो अगुल्टो   
  • २०८२ माघ २९, बिहीबार १३:३५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP