मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

२८६२औँ सोनाम ल्होसार धूमधामका साथ मनाइँदै

2K
SHARES
२८६२औँ सोनाम ल्होसार धूमधामका साथ मनाइँदै

काठमाडौं । आज तामाङ समुदायले आफ्नो नयाँ वर्षका रूपमा २८६२ औँ सोनाम ल्होसार हर्षोल्लास र उत्साहका साथ मनाइरहेका छन् । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाको दिन मनाइने यो पर्व तामाङ समुदायको महत्वपूर्ण सांस्कृतिक पहिचानसँग जोडिएको छ ।

सोनाम ल्होसारलाई १२ वटा वर्षचक्रमा विभाजन गरिएको छ, जसमा मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर पर्दछन् । आजबाट सर्प वर्षको विदाई भई घोडा वर्षको औपचारिक सुरुवात भएको छ । यी वर्षचक्र पशुपन्छीका नामबाट गणना गरिनु तामाङ समुदायको प्रकृतिप्रेमी र प्रकृतिपूजक संस्कृतिलाई झल्काउने अनुसन्धाताहरूको भनाइ छ ।

तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लाहरूमा यो पर्व विशेष र भव्य रूपमा मनाइँदैछ । घर–घरमा पूजाआजा, आफन्तभेटघाट तथा सांस्कृतिक कार्यक्रमहरू आयोजना गरिएको छ ।

पर्वको अवसरमा बौद्धनाथ क्षेत्र विकास समितिले बौद्ध क्षेत्रमा विविध सांस्कृतिक तथा धार्मिक कार्यक्रम आयोजना गरेको जनाएको छ । यस्तै, नेपाल तामाङ घेदुङको आयोजनामा टुँडिखेलमा शनिबारदेखि तीन दिनसम्म चल्ने ल्होसार महोत्सव सुरु भएको छ । आइतबारदेखि राजधानीको टुँडिखेलमा विशेष कार्यक्रमसहित ल्होसार महोत्सव जारी छ ।

महोत्सवअन्तर्गत तामाङ समुदायका ताम्बा, बोन्बो र लामाहरूको सांस्कृतिक झाँकी, परम्परागत गीत–नृत्य तथा मौलिक संस्कृतिको प्रस्तुति गरिने मूल समारोह समितिले जनाएको छ । साथै राष्ट्रिय तथा अन्तरराष्ट्रिय रूपमा ख्यातिप्राप्त कलाकारहरूको आकर्षक प्रस्तुति पनि रहनेछ ।

यसअघि सोनाम ल्होसारको सार्वजनिक बिदा कटौती गरिएको भए पनि पछिल्ला वर्षहरूमा सरकारले देशभर सार्वजनिक बिदा दिन थालेको छ । विभिन्न प्रदेश र स्थानीय तहले पनि यस पर्वको अवसरमा बिदा दिएका छन् ।

पर्वको अवसरमा राष्ट्रपति, प्रधानमन्त्री तथा विभिन्न राजनीतिक दलका नेताहरूले शुभकामना सन्देश व्यक्त गर्दै तामाङ समुदायको संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धनको कामना गरेका छन् ।



अगुल्टो अगुल्टो   
  • २०८२ माघ ५, सोमबार ००:४६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP