मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विशेष महाधिवेशनको मागले कांग्रेसभित्र तनाव चरममा

2.4K
SHARES
विशेष महाधिवेशनको मागले कांग्रेसभित्र तनाव चरममा

काठमाडौं । नेपाली कांग्रेसभित्र नियमित १५औँ महाधिवेशन समयमै हुन नसकेपछि आन्तरिक विवाद झन् चर्किएको छ । विशेष महाधिवेशनको माग गर्दै आएका महाधिवेशन प्रतिनिधिहरूले संयुक्त विज्ञप्ति जारी गरी केन्द्रीय कार्यसमितिको भूमिकामाथि गम्भीर प्रश्न उठाएका छन् ।

विशेष महाधिवेशन मार्गकर्ता प्रतिनिधिहरूले जारी गरेको विज्ञप्तिमा पार्टी विधानको उल्लङ्घन, लोकतान्त्रिक अभ्यास कमजोर भएको तथा संगठनभित्र अन्योल बढेको आरोप लगाइएको छ । उनीहरूका अनुसार विधानको व्यवस्था हुँदाहुँदै पनि नेतृत्वले आवश्यक निर्णय नगरेर समस्या झन् जटिल बनाएको छ ।

गत असोज २९ गते २,४८८ जना महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षरसहित निवेदन दर्ता गराएका थिए । पार्टी विधानको दफा १७ (२) अनुसार ४० प्रतिशतभन्दा बढी प्रतिनिधिको माग आएपछि त्यसलाई सम्बोधन गर्नुपर्ने भए पनि केन्द्रीय कार्यसमिति मौन बसेको उनीहरूको गुनासो छ ।

नियमित महाधिवेशन मंसिर मसान्तभित्र हुन नसकेपछि पुस मसान्तसम्म पनि सम्भावना नदेखिएकाले विशेष महाधिवेशन नै एकमात्र विकल्प बनेको उनीहरूको निष्कर्ष छ । यसै सन्दर्भमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पुस १७ गते संयुक्त विज्ञप्ति जारी गर्दै नियमित महाधिवेशनको कार्यतालिका स्थगित भएको घोषणा गरेका थिए ।

उनीहरूले ‘नियमित महाधिवेशन सम्पन्न हुन नसक्ने अवस्था सिर्जना भएपछि विशेष महाधिवेशन नै विकल्प बनेको’ स्पष्ट पारेका छन् । यसअघि भृकुटीमण्डपको हल पुस २७–२८ का लागि बुकिङ गरिएको खबर सार्वजनिक भएपछि विशेष महाधिवेशनको तयारी तीव्र बनेको संकेत पनि देखिएको थियो ।

विशेष महाधिवेशन पक्षधरहरूले केन्द्रीय कार्यसमितिले बैठक लम्ब्याएर प्रक्रिया अनावश्यक ढिलाइ गरेको, क्रियाशील सदस्यता वितरणसम्बन्धी विवाद समाधान नगरेको र पार्टीको लोकतान्त्रिक छविमा आँच पुर्‍याएको आरोप लगाएका छन् ।

उनीहरू आगामी फागुनमा हुने आम निर्वाचनअघि नयाँ नेतृत्व र स्पष्ट नीतिसहित पार्टीलाई एकताबद्ध गर्न विशेष महाधिवेशन अपरिहार्य भएको दाबी गर्छन् । विज्ञप्तिमा विधानको मर्म र महाधिवेशन प्रतिनिधिको भावनालाई सम्मान गर्दै तत्काल विशेष महाधिवेशन आह्वान गर्न आग्रह गरिएको छ ।

यता, पार्टी सभापति शेरबहादुर देउवा पक्षधरहरू भने विशेष महाधिवेशनले पार्टी फुटको जोखिम बढाउने भन्दै यसको विरोधमा देखिएका छन् । संस्थापन पक्ष नियमित महाधिवेशनलाई निर्वाचनपछिसम्म सार्ने मनस्थितिमा रहेको बुझिन्छ । तर महामन्त्री गगन थापाले सामाजिक सञ्जालमार्फत पुस मसान्तभित्र विशेष महाधिवेशन आह्वान गर्ने दिशामा पार्टी अघि बढिरहेको संकेत दिएका छन् ।

कांग्रेसभित्रको यो विवादले संगठनात्मक एकता कमजोर बनेको र आगामी निर्वाचनमा असर पर्न सक्ने चिन्ता विश्लेषकहरूले व्यक्त गरेका छन् । विशेष महाधिवेशनको माग सम्बोधन नभए पार्टीभित्र थप असन्तोष र विद्रोहको सम्भावना बढ्ने उनीहरूको भनाइ छ ।

यो विषय केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा प्रवेश गर्ने अपेक्षा गरिए पनि सहमति जुट्न कठिन देखिएको छ । आन्तरिक कलहका कारण प्रमुख प्रतिपक्षी दलका रूपमा रहेको नेपाली कांग्रेसको विश्वसनीयतामाथि नै प्रश्न उठ्न थालेको छ । विशेष महाधिवेशन हुने–नहुने निर्णयका लागि अझै केही दिन कुर्नुपर्ने देखिन्छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ पुष १८, शुक्रबार ०६:४३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP