मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

नेपालको विजयी सुरुवात, कुवेतमाथि ५८ रनको सानदार जित

3.1K
SHARES
नेपालको विजयी सुरुवात, कुवेतमाथि ५८ रनको सानदार जित

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले आईसीसी टी–२० विश्वकप एसिया इस्ट प्यासिफिक छनोटमा प्रभावशाली सुरुवात गर्दै पहिलो खेलमा कुवेतलाई ५८ रनले पराजित गरेको छ ।

बुधबार राति ओमानको अल एमिरेट्स क्रिकेट मैदान टर्फ १ मा भएको खेलमा नेपालले १ सय ४१ रनको लक्ष्य दिएको थियो । जवाफी पारीमा कुवेत १८.१ ओभरमै ८३ रनमा समेटिएको हो । यो जितसँगै नेपालले समूह ‘बी’ मा महत्त्वपूर्ण २ अंक जोड्दै शीर्ष स्थानमा स्थान बनाएको छ ।

१५औँ ओभरमा सन्दीप लामिछानेले लगातार दुई विकेट लिँदै कुवेतलाई झनै दबाबमा राखे । उनले उक्त ओभरमा मेडन विकेट लिएर उत्कृष्ट प्रदर्शन गरे । सन्दीपसँगै कप्तान रोहित पौडेल र ललित राजवंशीले पनि समान २–२ विकेट लिए । सोमपाल कामी, नन्दन यादव र कुशल भुर्तेलले एक–एक विकेट लिए ।

कुवेतका ओपनर क्लिन्टो एन्टोले २६ रन बनाए भने यासिन पटेलले १९ र मति भास्करले ११ रन बनाए । अन्य ब्याटरले दोहोरो अंकको स्कोर बनाउन सकेनन् ।

टस हारेर पहिला ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेटको क्षतिमा १४१ रन बनाएको थियो । ओपनर कुशल भुर्तेलले ५६ बलमा ३ चौका र ३ छक्कासहित ६६ रन बनाए । दीपेन्द्र सिंह ऐरी र गुल्सन झाले समान २० रन बनाए । कप्तान रोहित पौडेलले १६ रनको योगदान दिए ।

अन्य खेलाडीहरू सन्दीप जोरा (५), कुशल मल्ल (४), सोमपाल कामी (१) र नन्दन यादव (२) ले कम स्कोर जोडे । नेपालले अन्तिम ओभरमा दुई विकेट गुमाएको थियो ।

कुवेतका नवीनराज राजेन्द्रनले २ विकेट लिए भने मोहम्मद आकिफ फारुक, अनुदिप चेन्थामारा र मोहम्मद अस्लामले एक–एक विकेट हात पारे ।

यो छनोट प्रतियोगितामा ९ टोली छन्, जसलाई तीन समूहमा विभाजन गरिएको छ । समूह ‘ए’मा मलेसिया, कतार र यूएई रहेका छन् भने समूह ‘बी’मा नेपाल, कुवेत र जापान रहेका छन् । त्यस्तै समूह ‘सी’ मा ओमान, पपुवा न्युगिनी र सामोआ छन् ।

प्रत्येक समूहबाट शीर्ष दुई टोली सुपर सिक्समा प्रवेश गर्नेछन् । सुपर सिक्सको शीर्ष ३ टोलीले सन् २०२६ मा हुने टी–२० विश्वकपको टिकट सुनिश्चित गर्नेछन् ।

नेपालले समूह चरणको दोस्रो खेलमा शुक्रबार जापानविरुद्ध खेल्ने तालिका छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ आश्विन २२, बुधबार १८:३२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP