मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

चियुवानमा ‘महान् संस्कृति तथा कला सप्ताह’ भव्य रूपमा प्रारम्भ

1.9K
SHARES
चियुवानमा ‘महान् संस्कृति तथा कला सप्ताह’ भव्य रूपमा प्रारम्भ

चियुवान, चीन । चीनको चियुवान शहरमा पहिलो पटक ‘महान् संस्कृति तथा कला सप्ताह’ र ‘बाँदर राजा प्रतियोगिता’ भव्य रूपमा सुरु भएको छ । ‘चीनको बाँदर पर्वत, चियुवानको सांस्कृतिक शोभा’ नारासहित सुरु गरिएको यस महोत्सवले चिनियाँ परम्परागत संस्कृति, कला र पर्यटनलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने उद्देश्य राखेको आयोजकहरूले जनाएका छन् ।

उद्घाटन समारोहमा परम्परागत बाँदर नाच, युद्धकला र आधुनिक नृत्यका आकर्षक प्रस्तुति प्रदर्शित भए । करिब ३०० जना ‘सुन्दर बाँदर राजा’ प्रतिस्पर्धीहरूको सामूहिक उपस्थिति कार्यक्रममा विशेष आकर्षण बनेको थियो। कार्यक्रममा चीन–नेपाल सांस्कृतिक दूत तथा चर्चित कलाकार लियु स्याओलिङथोङको सहभागिता दर्शकका लागि अर्को चासोको विषय रह्यो ।

चीन–नेपाल सांस्कृतिक सम्बन्धको झलक
यस महोत्सवको विशेषता भनेको चीनको बाँदर पर्वत र नेपालको स्वयम्भूनाथ बाँदर मन्दिरबीच गरिएको भिडियो संवाद हो । यस संवादमार्फत दुवै मुलुकबीच ‘वानर’ प्रतीकको साझा सांस्कृतिक र आध्यात्मिक सम्बन्धलाई उजागर गरिएको थियो । नेपालका पूर्वराजदूतहरू लीलामणि पौडेल, टंक कार्की र विष्णुपुकार श्रेष्ठले कार्यक्रमलाई शुभकामना सन्देश पठाएका थिए । उनीहरूले बुद्ध, महामञ्जुश्री, कन्फ्युसियस, फासियान र ह्वेनसाङ जस्ता ऐतिहासिक व्यक्तित्वहरूको योगदानले नेपाल–चीन मित्रता अझ गहिरो भएको उल्लेख गरे ।

त्यस्तै, धुलिखेल नगरपालिकाका पूर्व उपमेयर सुवासकाजी श्रेष्ठले स्वयम्भूनाथ महाचैत्य र चीनको बाँदर पर्वतलाई २५०० वर्षको बौद्ध ज्ञान र संस्कृतिको प्रतीक भन्दै बाँदरले मानव, प्रकृति र आध्यात्मिकताको सन्तुलनलाई प्रतिविम्बित गर्ने धारणा राखे ।

नयाँ सांस्कृतिक केन्द्रको शुभारम्भ
कार्यक्रमको अवसरमा ‘पश्चिम यात्रा सांस्कृतिक आदानप्रदान केन्द्र’ को उद्घाटनसमेत गरिएको छ । यस केन्द्रमार्फत चीन र अन्य मुलुकबीच कला, साहित्य र सांस्कृतिक गतिविधिको निरन्तर आदानप्रदान हुने अपेक्षा गरिएको छ ।

लियु स्याओलिङथोङले आफ्नो प्रसिद्ध पात्र ‘सुन वुकोंग’को पोशाकमा ३०० जना प्रतिस्पर्धी बाँदर राजासँगै सामूहिक उपस्थित भएर विश्व कीर्तिमान कायम गरेका छन् । यसले महोत्सवलाई अझै ऐतिहासिक बनाएको आयोजकहरूको भनाइ छ ।

सप्ताहव्यापी सांस्कृतिक कार्यक्रम
महोत्सव सेप्टेम्बर २७ सम्म चल्नेछ । यस अवधिमा लोककथा वाचन, कला प्रदर्शनी, विद्यालयस्तरीय प्रतियोगिता, अन्तर्राष्ट्रिय सांस्कृतिक संवाद तथा पर्यटन प्रवर्द्धनका गतिविधि आयोजना हुनेछन् । आयोजकहरूले यस कार्यक्रममार्फत चियुवानलाई सांस्कृतिक नवप्रवर्तन र अन्तर्राष्ट्रिय आदानप्रदानको केन्द्रका रूपमा स्थापित गर्ने विश्वास व्यक्त गरेका छन् ।

स्थानीय बासिन्दा र पर्यटकहरूले महोत्सवलाई सांस्कृतिक विविधता बुझ्ने, अन्तर्राष्ट्रिय मित्रता बढाउने र पर्यटनमा नयाँ सम्भावना खोल्ने अवसरका रूपमा लिएका छन् ।



अगुल्टो अगुल्टो   
  • २०८२ आश्विन ५, आईतवार १०:१२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP