मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

चेपाङ समुदायले मनाउँदै न्वांगी (छोनाम) पर्व

1.6K
SHARES
चेपाङ समुदायले मनाउँदै न्वांगी (छोनाम) पर्व

चितवन । आज चेपाङ समुदायले आफ्नो प्रमुख सांस्कृतिक तथा धार्मिक पर्व न्वांगी (छोनाम) मनाइरहेका छन् । यो पर्व हरेक वर्ष भदौ २२ गते सामूहिक रूपमा मनाउने परम्परा रहिआएको छ ।

न्वांगी भदौ महिनाभरि मनाइए पनि २२ गते भने विशेष दिनका रूपमा सामूहिक भेला, सांस्कृतिक कार्यक्रम, भोज र नाचगानसहित मनाउने गरिन्छ । यस वर्ष चितवनको इच्छाकामना गाउँपालिका–६ कालिखोलामा देशभरका चेपाङहरू भेला भएर न्वांगी मनाउने तयारी भएको नेपाल चेपाङ सङ्घका अध्यक्ष गोविन्दराम चेपाङले जानकारी दिए ।

उनका अनुसार चितवन, मकवानपुर, धादिङ र गोरखा जिल्लामा हरेक वर्ष पालैपालो सामूहिक रूपमा न्वांगी मनाउने गरिएको छ । सामूहिक कार्यक्रममा सहभागी हुन नसक्नेहरूले भने आफ्ना घर–टोलमै यो पर्व मनाउने गर्छन् ।

चेपाङ समुदायको धार्मिक विश्वासअनुसार पितृलाई चढाई पूजा नगरी नयाँ अन्न र फलफूल खान पाइँदैन । त्यसैले न्वांगीको दिन घैया धान, काउनो, पिँडालु लगायत नयाँ अन्नपात र फलफूल भूमि र पितृलाई चढाइन्छ । पान्दे (झाँक्री) ले ढ्याङ्ग्रो ठोकी कुखुराको बलि दिने परम्परा पनि यस दिनसँग जोडिएको छ । यस अवसरमा नाता–कुटुम्बलाई बोलाई सामूहिक भोज, रमाइलो, नाचगान र आपसी सद्भाव साटासाट गरिन्छ ।

राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा चेपाङ जनसंख्या ८४ हजार ३६४ छ । सबैभन्दा धेरै चितवनमा ३५ हजार ६३७, मकवानपुरमा २३ हजार ६५०, धादिङमा १७ हजार १६० र गोरखामा ४ हजार २६८ जना बसोबास गर्छन् ।

यसै पर्वलाई महत्व दिँदै बागमती प्रदेश सरकारले २०७९ सालदेखि चितवन, मकवानपुर र धादिङमा भदौ २२ गते सार्वजनिक बिदा दिंदै आएको छ । गोरखाको गण्डकी गाउँपालिकाले पनि सो दिन सार्वजनिक बिदा दिने परम्परा सुरु गरेको छ ।

नेपाल चेपाङ सङ्घको अगुवाइमा न्वांगीलाई २०६३ सालदेखि राष्ट्रिय पर्वका रूपमा सामूहिक रूपमा मनाउन थालिएको हो ।



अगुल्टो अगुल्टो   
  • २०८२ भाद्र २२, आईतवार ०५:३२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP