मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

प्रचण्डको आरोपः “सरकार कांग्रेस-एमालेले होइन, बिचौलियाले चलाएका छन्”

1.9K
SHARES
प्रचण्डको आरोपः “सरकार कांग्रेस-एमालेले होइन, बिचौलियाले चलाएका छन्”

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार कांग्रेस र एमालेको देखिए पनि वास्तवमा बिचौलिया र दलालहरूको नियन्त्रणमा रहेको आरोप लगाएका छन् ।

बुधबार पार्टी निकट अखिल नेपाल महिला संघ (क्रान्तिकारी) को सातौँ सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रचण्डले राज्यको सञ्चालन जननिर्वाचित नेताभन्दा पनि पूँजीवादी दलालहरू र बिचौलियाको प्रभावमा भइरहेको दाबी गरे ।

प्रचण्डले भने, “अहिले राज्य कसको हातमा छ भन्ने प्रश्नमा कहिलेकाहीँ हामी पनि कन्फ्युजनमा पर्छौं । पार्टीका नेताहरूले चलाएको जस्तो देखिए पनि वास्तविकता फरक छ । राज्य पार्टीहरूको विचारभन्दा पनि बिचौलिया र दलाल पूँजीपतिहरूले खरिद गरेका नेताहरूको माध्यमबाट चलिरहेको छ ।”

उनका अनुसार बिचौलियाहरूले करोडौं/अर्बौं रुपैयाँ खर्च गरेर कर्मचारी भर्नादेखि नीतिगत निर्णयसम्ममा सेटिङ मिलाउँदै सरकार सञ्चालन गर्ने प्रयास गरिरहेका छन् । उनले यसै विरुद्ध आफूले सुशासन र भ्रष्टाचारविरोधी अभियान छेडेको बताए ।

प्रचण्डले राम्रो काम गर्न खोज्ने व्यक्तिहरूलाई योजनाबद्ध रूपमा हटाउने कार्य भइरहेको आरोपसमेत लगाए । उनले भने, “राम्रो गर्न खोज्दा कुलमान हटाइयो, कान्छाराम हटाइयो, अहिले इन्दिरा रानालाई हटाउन षड्यन्त्र भइरहेको छ । जनजातिहरूलाई छानिछानी हटाउने काम भइरहेका छन् ।”

दलाल र बिचौलियाहरूको विरुद्धमा सबै पार्टीका महिलाहरू एकजुट भई सडक संघर्षमा उत्रनुपर्ने आवश्यकता रहेको उल्लेख गर्दै उनले आह्वान गरे, “पैसाको बलमा सेटिङ गरेर राज्य सञ्चालन खोज्ने प्रवृत्तिविरुद्ध महिलाहरूले अग्रपंक्तिमा उभिनुपर्छ ।”

प्रचण्डले अन्त्यमा बिचौलिया संस्कार र भ्रष्टाचारविरुद्ध निर्णायक संघर्षको चेतावनी दिएका छन् ।



अगुल्टो अगुल्टो   
  • २०८२ भाद्र १८, बुधबार १३:३६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP