मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

एमाले–कांग्रेस गठबन्धनले स्थिरता ल्यायो, अस्थिरताको कामना गर्नेहरू छट्पटिइरहेका छन्ः महासचिव पोखरेल

2.4K
SHARES
एमाले–कांग्रेस गठबन्धनले स्थिरता ल्यायो, अस्थिरताको कामना गर्नेहरू छट्पटिइरहेका छन्ः महासचिव पोखरेल

कञ्चनपुर । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा एमाले र नेपाली कांग्रेसबीचको सहमतिले बनेको वर्तमान गठबन्धनले देशमा राजनीतिक स्थिरता स्थापना गरेको दाबी गरेका छन् । यसका कारण सरकार ढल्छ भन्ने अफवाह फैलाउने ‘अस्थिरताका रोगीहरू’ छट्पटाइरहेको उनको टिप्पणी छ ।

सोमबार प्रेस चौतारी नेपाल कञ्चनपुर समितिद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पोखरेलले आगामी निर्वाचनसम्म सरकार निरन्तर टिक्ने भन्दै संसद् र राजनीतिक दलहरूको प्रतिबद्धतामाथि जनताको विश्वास रहनुपर्ने बताए ।

‘दुई ठूला दलको सहमतिमा सरकार बनेको छ,’ उनले भने, ‘तर केही मान्छे अस्थिरताको कामना गर्दै आज ढल्छ, भोलि ढल्छ भन्दै हल्ला फैलाइरहेका छन् ।’

कांग्रेस नेता शेखर कोइरालाको नाम नलिए पनि लक्षित गर्दै पोखरेलले सत्ता साझेदारी खोज्ने तर बाहिर सरकारको विरोध गर्ने प्रवृत्ति अनैतिक भएको बताए ।

मिडिया काउन्सिल विधेयकबारे बोल्दै महासचिव पोखरेलले सूचनाको हक कुण्ठित गर्ने कुनै कानुन सरकारले नल्याउने स्पष्ट पारे । ‘अहिले स्वतन्त्रताको नाममा अराजकता बढेको छ,’ उनले भने, ‘संविधानको मर्म विपरीत कुनै कानुन बनाउँदैनौं, सञ्चार क्षेत्रलाई व्यवस्थित गर्ने दिशामा मात्रै अगाडि बढ्छौं ।’

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको राजनीतिक भूमिकामाथि उठेका प्रश्नबारे उनले लोकतान्त्रिक प्रणालीमा राष्ट्राध्यक्षको पदबाट निवृत्त भएका व्यक्तिले पुनः सक्रिय राजनीतिमा फर्किनु उचित नहुने धारणा व्यक्त गरे ।

‘पूर्वराष्ट्रपतिहरू सम्मानित भूमिकामा बस्नुपर्छ भन्ने हाम्रो मान्यता हो,’ उनले भने, ‘व्यक्तिलाई होइन, संस्थालाई बलियो बनाउनेतर्फ हामी केन्द्रित छौँ।’



अगुल्टो अगुल्टो   
  • २०८२ भाद्र २, सोमबार ०७:०१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP