मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

प्रचण्डको आरोपः ‘पार्टीलाई फुटाउने षड्यन्त्र तीव्र, प्रतिक्रियावादीसँग अन्तिम लडाइँ बाँकी’

2K
SHARES
प्रचण्डको आरोपः ‘पार्टीलाई फुटाउने षड्यन्त्र तीव्र, प्रतिक्रियावादीसँग अन्तिम लडाइँ बाँकी’

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीलाई विभाजित पार्न प्रतिक्रियावादी शक्तिहरू सक्रिय रूपमा षड्यन्त्रमा लागेको आरोप लगाएका छन् । आइतबार काठमाडौंको पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित २३औँ बोत्ले स्मृति दिवसका अवसरमा बोल्दै प्रचण्डले यस्तो दाबी गरेका हुन् ।

उनले शान्ति प्रक्रियामा प्रवेश गरेदेखि नै माओवादी आन्दोलनमाथि लगातार षड्यन्त्र र हमला भइरहेको उल्लेख गरे । “हामी शान्ति सम्झौतामा आएका दिनदेखि नै विभाजन, छलकपट र लगानीसहितको षड्यन्त्र चलिरहेको छ,” उनले भने, “प्रतिक्रियावादी शक्तिहरू पार्टी फुटाउन मरिमत्त परेका छन् ।”

उनको भनाइमा अहिलेको अवस्था ‘अन्तिम मुठभेड’को हो — जहाँ क्रान्तिकारीहरूले एकताबद्ध भएर प्रतिक्रियावादीका विरुद्ध निर्णायक संघर्ष गर्नुपर्ने बेला आएको छ । उनले क्रान्तिकारी कम्युनिस्ट शक्तिहरूबीच एकता आवश्यक रहेको दोहोर्याए ।

‘सहिद अपमान गर्ने प्रयास हुँदैछ’
प्रचण्डले प्रतिक्रियावादी शक्तिहरूमाथि सहिदहरूको योगदानलाई अवमूल्यन गर्ने र इतिहासलाई मेट्ने प्रयास गरिरहेको गम्भीर आरोप पनि लगाए । “त्यही तत्त्वहरूले महिला माथिको बलात्कार, यातना र हत्याका नृशंस अपराध गरे — आज पनि उनीहरू क्रान्तिकारी विरुद्ध षड्यन्त्रमा लागिरहेका छन्,” उनले भने ।

उनका अनुसार पछिल्लो केन्द्रीय समिति बैठकले पनि सहिद, बेपत्ता तथा घाइते योद्धाहरूको योगदानलाई गम्भीर रूपमा समीक्षा गरेको छ र पार्टीभित्रै त्यसप्रति चित्तबुझ्दो सम्मान नदेखिएको आत्मस्वीकृति भएको छ ।

‘नयाँ आन्दोलनको सङ्केत’
प्रचण्डले बोत्ले हत्याकाण्डको स्मृतिमा आयोजित कार्यक्रममा नयाँ आन्दोलनको आवश्यकता र तयारीको सङ्केतसमेत दिए । “हामी फेरि नयाँ आन्दोलन र विद्रोहतर्फ अघि बढिरहेका छौं,” उनले भने, “यो सङ्कल्पको यात्रालाई बोत्ले घटनाले अझ सशक्त बनाउनेछ ।”

उनका अनुसार जारी स्थायी समिति बैठकमा पनि पार्टी एकतालाई मजबुत बनाउने, विगतका अनुभवको मूल्याङ्कन गर्ने र अग्रगामी यात्राको योजना तय गर्ने विषयमा गम्भीर छलफल भइरहेको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ श्रावण १८, आईतवार ०५:५१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP