मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

बर्डफ्लु नियन्त्रणमा, नयाँ संक्रमण शून्य: किसानले पाए राहत, बजारमा कुखुरा र अण्डाको माग बढ्दै

234
SHARES
बर्डफ्लु नियन्त्रणमा, नयाँ संक्रमण शून्य: किसानले पाए राहत, बजारमा कुखुरा र अण्डाको माग बढ्दै

काठमाडौं । देशभर फैलिएको बर्डफ्लु संक्रमण अहिले नियन्त्रणमा आएको सरकारले जनाएको छ । पशु सेवा विभागका अनुसार साउन १ गतेयता मुलुकको कुनै पनि क्षेत्रमा बर्डफ्लुको नयाँ संक्रमण पुष्टि भएको छैन । विभागले रोगको जोखिम न्यून भइसकेको भन्दै निगरानी र परीक्षणलाई भने निरन्तरता दिएको जनाएको छ ।

विभागका महानिर्देशक डा. उमेश दाहालका अनुसार पछिल्लो संक्रमण काठमाडौंको गोकर्णेश्वर–१ सुन्दरीजलमा देखिएको थियो । त्यसपछि कुनै नयाँ केस नदेखिएकाले संक्रमण नियन्त्रणमा आएको निष्कर्ष निकालिएको उनले बताए । संक्रमण देखिएका स्थान आसपासबाट नमुना संकलन गरी प्रयोगशालामा परीक्षण गर्ने कार्य अझै जारी रहेको विभागले जनाएको छ ।

यो वर्षको बर्डफ्लु संक्रमण अन्तिमपटक चैत ४ गते मोरङको उर्लाबारी–८ र सुन्दरहरैंचा–४ मा पुष्टि भएको थियो । त्यसयता संक्रमण ११ जिल्लासम्म फैलिएको भए पनि हाल काठमाडौं उपत्यकाबाहिरका सबै सात जिल्लामा रोग पूर्ण रूपमा नियन्त्रणमा आइसकेको विभागको दाबी छ ।

काठमाडौं, ललितपुर, भक्तपुर र काभ्रेपलाञ्चोकमा मात्रै ११९ स्थानमा संक्रमण पुष्टि भएको थियो । तीमध्ये काठमाडौंमा ३२, ललितपुरमा १५, भक्तपुरमा ४५ र काभ्रेमा २७ स्थान प्रभावित बनेका थिए ।

संक्रमण नियन्त्रणका क्रममा सरकारले देशभर ८ लाख ३५ हजार ५६३ वटा पन्छी नष्ट गरेको छ । वरिष्ठ पशु चिकित्सक डा. मुकुल उपाध्यायका अनुसार ११ लाख ६५ हजार ६६३ वटा अण्डा र २ लाख ४५ हजार ३५ किलो दाना पनि सुरक्षित रूपमा नष्ट गरिएको थियो । काठमाडौं उपत्यका र काभ्रे क्षेत्रमा मात्रै ३ लाख ६७ हजार ८३५ वटा पन्छी नष्ट गर्नुपरेको थियो ।

संक्रमणबाट सबैभन्दा बढी कमर्सियल लेयर्स कुखुरा प्रभावित भए पनि ब्रोइलर, स्थानीय कुखुरा, हाँस, टर्की र कालिजमा समेत रोग फैलिएको थियो ।

संक्रमणबाट प्रभावित किसानलाई राहत उपलब्ध गराउन सरकारले ५२ करोड रुपैयाँ विनियोजन गरेको थियो । विभागका अनुसार हालसम्म १०४ जना कृषक तथा पोल्ट्री फर्मलाई करिब ५० करोड ७१ लाख १५ हजार रुपैयाँ क्षतिपूर्ति वितरण गरिसकिएको छ ।

सरकारको सक्रियता, प्रयोगशाला परीक्षणको विस्तार र किसानको सहयोगका कारण बर्डफ्लुलाई समयमै नियन्त्रण गर्न सफल भएको विभागको भनाइ छ । डा. उपाध्यायका अनुसार अहिले थप संक्रमण फैलिने जोखिम निकै कम रहेको छ ।

बर्डफ्लुको त्रास कम भएसँगै बजारमा कुखुराको मासु र अण्डाको कारोबार पनि पुनः सामान्य बन्दै गएको छ । केही महिनाअघि मूल्यमा आएको गिरावट र बिक्री नहुँदा ठूलो घाटा बेहोरेका किसानले अहिले उत्पादनको उचित मूल्य पाउन थालेका छन् ।



अगुल्टो अगुल्टो   
  • २०८३ श्रावण ७, बिहीबार ०६:०१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP