मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

प्रहरी नेतृत्वमा फेरबदलः दीपक थापाको समापन, चन्द्रकुबेर खापुङको सुरुवात

2.2K
SHARES
प्रहरी नेतृत्वमा फेरबदलः दीपक थापाको समापन, चन्द्रकुबेर खापुङको सुरुवात

काठमाडौं । मुलुकको जनजीवनसँग नजिक रहेको नेपाल प्रहरीको नेतृत्व आज मध्यरातदेखि परिवर्तन हुँदैछ । ३१औं प्रहरी महानिरीक्षक (आईजीपी)का रूपमा कार्यरत दीपक थापा १७०औं दिनको दिन अर्थात् आज राति १२ बजेबाट अवकाश लिँदैछन् । अब आगामी दुई महिनाका लागि संगठनको नेतृत्व चन्द्रकुबेर खापुङले सम्हाल्ने भएका छन् ।

थापाको नेतृत्वः अपेक्षा र निराशा

चैत ५, २०८१ मा आईजीपीको जिम्मेवारी सम्हालेका थापा जागिरकै अन्तिम अध्यायमा संगठनको उच्चतम पदमा पुगेका थिए । कर्तव्यप्रति दत्तचित्त र कार्यक्षमतामा अब्बल मानिने थापाबाट आम जनताले ठूलो अपेक्षा गरेका थिए । तर, नेतृत्वमा पुगेपछि उनी त्यस अपेक्षा पूरा गर्न चुकेको मूल्यांकन भइरहेको छ ।

उनको नेतृत्वमा तीनकुने घटनामा देखिएको प्रहरीको भूमिका, ठेक्का प्रकरण, सरुवामा चलखेल र संगठनप्रति आफ्नै कर्मचारीहरूको असन्तोषजस्ता विषय बढी चर्चामा रहे । यसबाहेक प्रहरी मुख्यालयमै उद्घाटन र शिलान्यासमा केन्द्रित भएको भन्दै आलोचना पनि भयो । उनले आईजीपी निवास परिसरमा ‘श्री दीप कुञ्ज’ नामक भवन उद्घाटन गरेर आफ्नै नाम अमर बनाउने शैली पनि देखाए ।

छोटो कार्यकाल, सीमित उपलब्धि

६ महिनाभन्दा कम समयको नेतृत्वमा थापाले ठोस उपलब्धि हासिल गर्न सकेनन् भन्ने धारणा बलियो छ । कतिपयले ‘जम्मा ६ महिनामा के नै गर्न सकिन्छ ?’ भन्ने तर्क गरे पनि, केही सकारात्मक सुरुवात गर्न सक्ने अवसर उनले गुमाएको आलोचकहरूको बुझाइ छ । विगतमा फिल्डमा रहँदा कमाण्डिङ क्षमतामा अब्बल मानिएका थापा, शीर्ष नेतृत्वमा पुगेपछि भने औसतभन्दा तलको प्रदर्शनमा सीमित भएको मूल्यांकन गरिएको छ ।

खापुङप्रति आशा

अब नेतृत्व चन्द्रकुबेर खापुङको हातमा आएको छ । दुई महिनाको छोटो कार्यकाल भए पनि उनीमाथि ठूलो अपेक्षा राखिएको छ । प्रहरी संगठनमा व्याप्त विवाद, कर्मचारीबीचको अविश्वास र जनताको सुरक्षा अपेक्षा व्यवस्थापन गर्न खापुङ सक्षम हुन्छन् कि भन्ने प्रश्न खडा भएको छ ।

जनताले चाहेको छ— छोटो भए पनि पारदर्शी, शुद्ध र अनुकरणीय नेतृत्व । यदि खापुङले सोही दिशामा कदम चाल्न सके भने उनी थापामाथिको आलोचना शान्त पार्ने मात्र होइन, संगठनको मनोबललाई पनि पुनर्जीवित गराउन सक्नेछन् ।

दीपक थापाको ३० वर्ष लामो सेवाजीवन उत्कृष्टबाट सुरु भएर औसत हुँदै निराशाजनक समापनमा पुग्यो भन्ने आँकलन गरिएको छ । अब उनले सामान्य नागरिकको रूपमा सुखमय जीवन बिताउन सकून् भन्ने शुभकामना । उता, खापुङको छोटो कार्यकाल सफल होस्, उनले प्रहरी नेतृत्वमा सकारात्मक छाप छाडून् भन्ने जनअपेक्षा उच्च छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ भाद्र १८, बुधबार १०:३०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP