मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

आईसीसी विश्वकप लिग–२: नेपाल र स्कटल्यान्ड भिड्दै, नेपालको बदला लिने लक्ष्य

689
SHARES
आईसीसी विश्वकप लिग–२: नेपाल र स्कटल्यान्ड भिड्दै, नेपालको बदला लिने लक्ष्य

काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गत जारी त्रिकोणात्मक सिरिजमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज (सोमबार) स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल बिहान साढे ९ः०० बजे सुरु हुनेछ । पहिलो भेटमा डीएल मेथडका आधारमा २ रनको हार बेहोरेको नेपाल यसपटक जित निकाल्दै हिसाब बराबरी गर्ने योजनामा छ ।

घरेलु समर्थकको साथ पाएको नेपाली टोली पछिल्लो खेलमा अमेरिकाविरुद्ध शानदार प्रदर्शन गर्दै ९ विकेटको प्रभावशाली जित निकाल्न सफल भएको थियो । उक्त खेलमा ब्याटिङ र बलिङ दुवै पक्षमा नेपालले उत्कृष्ट लय देखाएको थियो । यही आत्मविश्वासलाई कायम राख्दै स्कटल्यान्डविरुद्ध मैदान उत्रने तयारीमा टोली रहेको छ ।

स्कटल्यान्ड भने सिरिजमा लगातार तेस्रो जितको खोजीमा छ । उसले यसअघि नेपाल र अमेरिकालाई समान २ रनले डीएल मेथडमा पराजित गरेको थियो । अनुभवी खेलाडीले भरिएको स्कटल्यान्ड टोली नेपालविरुद्ध फेरि जित निकाल्दै अंक तालिकामा आफ्नो शीर्ष स्थान अझ मजबुत बनाउन चाहन्छ ।

नेपालका लागि आजको खेल केवल जितका लागि मात्र नभई अंक तालिका सुधारका हिसाबले पनि अत्यन्त महत्वपूर्ण मानिएको छ । लिग–२ अन्तर्गत बाँकी खेलहरूमा राम्रो नतिजा निकालेर नेपाल शीर्ष ६ भित्र रहँदै एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता सुरक्षित गर्ने लक्ष्यमा छ ।

पछिल्लो खेलमा अवसर पाएका ओपनर कुशल भुर्तेलले अमेरिकाविरुद्ध शतकीय पारी खेल्दै आफ्नो उत्कृष्ट फर्म देखाएका थिए । युवा ब्याटर इशान पाण्डेले पनि संयमित प्रदर्शन गरेका थिए । त्यस्तै विकेटकिपर ब्याटर आशिफ शेखले अर्धशतक प्रहार गर्दै टोलीलाई बलियो सुरुआत दिलाएका थिए ।

मुख्य प्रशिक्षक स्टुआर्ट लले अमेरिकाविरुद्ध सफल भएको प्लेइङ–११ लाई निरन्तरता दिन सक्ने सम्भावना छ । यद्यपि टोलीको सन्तुलन मिलाउन आवश्यक ठानेमा सोमपाल कामीको स्थानमा करण केसीलाई मौका दिन सकिने चर्चा पनि छ ।

हाल नेपालले लिग–२ मा २६ खेल खेल्दै २० अंक जोडेको छ र तालिकाको सातौँ स्थानमा रहेको छ । नेपालले ९ खेल जितेको, १५ खेल गुमाएको तथा दुई खेलमा अंक बाँडेको छ । शीर्ष स्थानमा रहेको स्कटल्यान्डले ३० खेलबाट ३८ अंक जोडेको छ भने अमेरिका २६ खेलबाट ३६ अंकसहित दोस्रो स्थानमा रहेको छ ।

घरेलु मैदानमा समर्थकको उत्साहपूर्ण साथ पाउने भएकाले नेपाललाई आजको खेलमा थप ऊर्जा मिल्ने अपेक्षा गरिएको छ । क्रिकेट समर्थकहरू पनि नेपाली टोलीले स्कटल्यान्डसँगको अघिल्लो हारको बदला लिँदै महत्त्वपूर्ण दुई अंक हात पार्ने विश्वासमा छन् ।



अगुल्टो अगुल्टो   
  • २०८३ जेष्ठ ४, सोमबार ००:४४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP