मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

२ रनले चुक्यो नेपाल, सुपर सिक्सको यात्रा संकटमा

1.4K
SHARES
२ रनले चुक्यो नेपाल, सुपर सिक्सको यात्रा संकटमा

काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटमा नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले लगातार दोस्रो हार बेहोरेको छ । जितको नजिक पुगेर पनि अन्तिम ओभरमा चुक्दा नेपाल नेदरल्यान्ड्ससँग २ रनले पराजित भएको हो । यस हारसँगै नेपालको सुपर सिक्स पुग्ने सम्भावना कमजोर बनेको छ भने लगातार तेस्रो जित निकालेको नेदरल्यान्ड्स सुपर सिक्समा प्रवेश गरेको छ ।

नेदरल्यान्ड्सले दिएको १ सय ४१ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ३८ रन मात्र बनाउन सक्यो । अन्तिम ओभरमा १३ रन आवश्यक हुँदा नेपालले ११ रन मात्र जोड्न सकेपछि जित हातबाट फुस्कियो ।

नेपालको ब्याटिङमा रुविना क्षेत्री र सीता रानामगरले अन्तिमतिर आशा जगाएका थिए । आठौँ विकेटका लागि उनीहरूले ४५ रनको महत्वपूर्ण साझेदारी गर्दै खेललाई अन्तिम ओभरसम्म पुर्‍याए । रुविनाले ३२ बलमा ५ चौकासहित ३७ रन बनाइन् भने सीता २७ रनमा अविजित रहिन् ।

यो खेल रुविनाका लागि व्यक्तिगत उपलब्धिको हिसाबले पनि विशेष बन्यो । उनले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा १ हजार रन पूरा गरिन् । नेपालबाट महिला टी–२० आइमा १ हजार रन बनाउने उनी दोस्रो खेलाडी हुन् । रुविनाले ३३ रन पूरा गर्ने क्रममा यो कीर्तिमान हासिल गरेकी थिइन् ।

अन्य ब्याटरमध्ये बिन्दु रावलले १८, सम्झना खड्काले १४ र कविता जोशीले १३ रन जोडिन् । पूजा महतो ८ र इन्दु बर्मा ६ रनमा आउट भए । एक समय १६.२ ओभरमा नेपाल ७ विकेट गुमाएर ९३ रनमै सीमित हुँदा हार लगभग निश्चित देखिएको थियो, तर अन्तिम साझेदारीले खेललाई रोमाञ्चक बनाएको थियो ।

यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेदरल्यान्ड्सले २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ४० रनको प्रतिस्पर्धात्मक योगफल तयार पारेको थियो । बबेटे डे लिडेले ४९ रन बनाइन् भने स्टेरे कालिसले ३० रनको योगदान दिइन् ।

नेपालले सुरुवातमै दबाब बनाएको थियो । पहिलो ओभरमै ओपनर पेभे मोल्केबोइर शून्य रनमा सुमन विष्टको बलमा आउट भइन् । दोस्रो ओभरमा अर्की ओपनर हेइदर साइजर्स १३ बलमा पूजा महतोको बलमा क्याच आउट भइन् । डे लिडे र कालिसलाई पनि नेपालले क्रमशः रुविना र रिया शर्माको बलमा आउट गरेको थियो ।

नेपालका लागि रुविना क्षेत्रीले २ विकेट लिइन् भने सुमन विष्ट, पूजा महतो र रिया शर्माले समान १–१ विकेट हात पारे ।

यसअघि नेपाल पहिलो खेलमा थाइल्यान्डसँग ८ विकेटले पराजित भएको थियो । समूह चरणको तेस्रो खेलमा नेपालले शनिबार जिम्बावेसँग प्रतिस्पर्धा गर्नेछ । सुपर सिक्सको सम्भावना जोगाइराख्न अब नेपाललाई जितसँगै अन्य टोलीको नतिजामा पनि भर पर्नुपर्ने अवस्था आएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ माघ ८, बिहीबार ०६:५४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP