मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

एसीसी यु–१६ इस्ट जोन कपः मलेसियामाथि दबदबा कायम गर्दै नेपाल फाइनलमा

3.9K
SHARES
एसीसी यु–१६ इस्ट जोन कपः मलेसियामाथि दबदबा कायम गर्दै नेपाल फाइनलमा

काठमाडौं । नेपालले १६ वर्ष मुनिको एसीसी इस्ट जोन कप क्रिकेट प्रतियोगितामा शानदार प्रदर्शन गर्दै फाइनल यात्रा तय गरेको छ । बिहीबार मलेसियाको घरेलु मैदानमा सम्पन्न सेमिफाइनल खेलमा नेपालले आयोजक मलेसियालाई ९ विकेटले पराजित गर्दै उपाधि नजिक पुगेको हो ।

पहिलो ब्याटिङमा उत्रिएको मलेसियाको इनिङ्स सुरुदेखि नै समस्यामा फस्यो । नियमित अन्तरालमा विकेट गुमाएको मलेसियाले ४३ ओभर १ बलमै ९० रनमै सबै विकेट गुमायो । मलेसियाका लागि मोहम्मद फतुलले सबैभन्दा धेरै ३८ रन बनाए भने डियाज प्याट्रोले १० रनको योगदान दिए । बाँकी ब्याटरहरू दोहोरो अंक छुन समेत असफल रहे ।

नेपालका बलरहरूले अनुशासित प्रदर्शन गरे । अभय यादवले घातक बलिङ गर्दै ४ विकेट लिए । शुभम् खनालले ३ विकेट हात पार्दा कप्तान विपिनप्रसाद शर्मा र सचिन भट्टले समान १–१ विकेट लिए ।

सामान्य लक्ष्य पछ्याउन मैदान उत्रिएको नेपालले आक्रामक शैलीमा ब्याटिङ गर्यो । ओपनर परिमार्जन यादवले उत्कृष्ट अर्धशतक प्रहार गर्दै ५९ रनको अविजित इनिङ्स खेले । उनले २३ रन बनाउने शिवान्श बजगाईंसँग सशक्त साझेदारी गरे । मलेसियाका तर्फबाट एकमात्र विकेट नागिनेश्वरमले लिए ।

नेपालले ११ ओभर ४ बलमै लक्ष्य पूरा गर्दै ९ विकेटको सहज जित हात पार्‍यो । प्रतियोगितामा अब नेपालले उपाधिका लागि शनिबार हङकङ र सिङ्गापुरबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

नेपाल क्रिकेट संघ (क्यान) का अधिकारीहरू अनुसार, उमेर समूहको प्रतियोगितामा नेपालले निरन्तर सुधार देखाउँदै आएको छ । प्रशिक्षक र व्यवस्थापक टोलीले खेलाडीको अनुशासन र कौशलमा विशेष ध्यान दिँदै आएको जनाएको छ ।

यस जितले नेपाली यु–१६ टोलीको मनोबल झनै बढाएको छ । फाइनल खेलमा पनि टोलीले यस्तै प्रदर्शन गर्ने विश्वास नेपाली क्रिकेटप्रेमीहरूमा देखिएको छ । प्रतियोगितामा अबको लक्ष्य उपाधि जितेर भविष्यका खेलाडीहरूको आत्मविश्वास झनै बलियो बनाउने रहेको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ असार १९, बिहीबार ०७:१९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP