मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

‘मनोनयनमा तडकभडक निषेध, उल्लङ्घन गरे कडा कारबाही हुन्छ”

1.8K
SHARES
‘मनोनयनमा तडकभडक निषेध, उल्लङ्घन गरे कडा कारबाही हुन्छ”

काठमाडौं । निर्वाचन आयोगका प्रमुख कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले उम्मेदवारी मनोनयनका क्रममा बाजागाजा, जुलुस तथा अन्य तडकभडकपूर्ण गतिविधि नगर्न राजनीतिक दल र उम्मेदवारहरूलाई कडा चेतावनी दिएका छन् ।

सोमबार आयोग परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै भण्डारीले मनोनयन दर्ता गराउँदा देखिने अनावश्यक प्रदर्शन कानुन र निर्वाचन आचारसंहिताले पूर्ण रूपमा निषेध गरेको स्पष्ट पारे । उनले त्यस्ता गतिविधिमा संलग्न हुनेविरुद्ध आयोग कठोर निर्णय लिन पछि नहट्ने बताए ।

“उम्मेदवारी कायम गर्न जाँदा बाजागाजा, भीडभाड र तडकभडक गर्ने अभ्यास देखिन्छ, तर यो कानुन र आचारसंहिता दुवैले निषेध गरेको विषय हो,” भण्डारीले भने, “यसको उल्लङ्घन गर्नेहरूमाथि आयोगले कडाइका साथ कारबाही गर्छ ।”

उनले सबै उम्मेदवार र दलहरूलाई निष्ठापूर्वक आचारसंहिताको पालना गर्दै शान्त र मर्यादित रूपमा मनोनयन पत्र दाखिल गर्न आग्रह गरे । आचारसंहिता पालनाले मात्र निर्वाचनप्रति जनविश्वास मजबुत हुने उनको भनाइ थियो ।

कार्यवाहक आयुक्त भण्डारीले आगामी निर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न हुने दाबीसमेत गरे । उनले देशभित्र मात्र नभई विदेशमा रहेका नेपाली तथा अन्तर्राष्ट्रिय समुदायले पनि नेपालको निर्वाचन प्रक्रियालाई नजिकबाट हेरिरहेकाले सबैले जिम्मेवार भूमिका खेल्नुपर्नेमा जोड दिए ।

“आचारसंहिताले निषेध गरेका कार्यहरू नगरी मनोनयन प्रक्रियामा सहभागी भएमा यो निर्वाचनप्रति कुनै शंका–उपशंका रहँदैन,” भण्डारीले भने, “सबै सरोकारवालाको सहयोगले लोकतान्त्रिक अभ्यास थप विश्वसनीय बन्छ ।”



अगुल्टो अगुल्टो   
  • २०८२ माघ ५, सोमबार १२:३४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP