मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मेयर दाहालद्वारा कार्यप्रगति सार्वजनिक, ९ वर्षमा सडकदेखि कृषिसम्मका उपलब्धि प्रस्तुत

1.7K
SHARES
मेयर दाहालद्वारा कार्यप्रगति सार्वजनिक, ९ वर्षमा सडकदेखि कृषिसम्मका उपलब्धि प्रस्तुत

चितवन । भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले महानगरमा निर्वाचित भएपछि आफूले गरेका कामको विस्तृत विवरण सार्वजनिक गरेकी छन् । आज आयोजित प्रशासकीय भवन उद्घाटन कार्यक्रममा लिखित तथा भावुक मन्तव्य दिँदै उनले आफ्नो नेतृत्वमा भएका विकास र सुधारका प्रयासहरू उल्लेख गरेकी हुन् ।

दाहालले आफू निर्वाचित भएर आउनुअघि र त्यसपछिको अवस्थाको तुलना गर्दै पछिल्लो ९ वर्षमा भरतपुर महानगरमा पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य, वातावरण, सामाजिक विकास र सुशासनका क्षेत्रमा उल्लेखनीय काम भएको दाबी गरिन् । उनका अनुसार विकासका कामहरू योजनाबद्ध रूपमा अघि बढाइएका छन् ।

पूर्वाधारतर्फ, महानगरमा ९ वर्षको अवधिमा १ हजार ७२ किलोमिटर नयाँ सडक कालोपत्रे गरिएको उनले बताइन् । उनले पूर्व–पश्चिम राजमार्गभन्दा लामो सडक सञ्जाल भरतपुरमा निर्माण भएको दाबी गर्दै नेपालकै सबैभन्दा लामो ८८.६ किलोमिटरको चक्रपथ (रिङ रोड) निर्माण कार्य पनि निरन्तर अघि बढिरहेको जानकारी दिइन् ।

सहरी व्यवस्थापनका क्षेत्रमा मुख्य बजार क्षेत्रमा २३ किलोमिटर विद्युत् तार भूमिगत गरिएको, ४१८ वटा सिसिटिभी क्यामेरा जडान गरिएको तथा स्मार्ट सडक बत्तीहरू राखिएको उनले उल्लेख गरिन् । यसले सहरी सौन्दर्यसँगै सुरक्षामा पनि सुधार आएको उनको भनाइ थियो ।

कृषि क्षेत्रतर्फ दूध उत्पादन गर्ने किसानलाई प्रतिलिटर ४ रुपैयाँ अनुदान दिने नीति आफ्नो कार्यकालमै सुरु गरिएको र हालसम्म २२ करोड रुपैयाँ वितरण भइसकेको दाहालले जानकारी दिइन् । यसले किसानको आय बढाउन मद्दत पुगेको उनको दाबी छ ।

त्यसैगरी नारायणी नदीमा तटबन्ध निर्माण गरेर बाढीको जोखिम न्यूनीकरण गरिएको र जङ्गली जनावरको आक्रमण रोक्न ३६ किलोमिटर लामो मेस जाली (तारबार) लगाइएको पनि उनले बताइन् । दाहालले विकास र सुरक्षा दुवैलाई सन्तुलनमा राखेर भरतपुरलाई नमुना महानगर बनाउने लक्ष्यसहित आफू अघि बढिरहेको स्पष्ट पारिन् ।

मेयर दाहालले आफ्नो नेतृत्वमा भएका दाबी गर्दै प्रस्तुत गरेका कामहरूको सुचीः

– ​सडक पूर्वाधार: महानगरमा ९ वर्षको अवधिमा १ हजार ७२ किलोमिटर नयाँ सडक कालोपत्रे गरिएको छ । साथै, नेपालकै सबैभन्दा लामो ८८.६ कि।मि।को चक्रपथ (रिङ रोड) निर्माण भइरहेको छ ।

– ​उज्यालो र डिजिटल सहर: मुख्य बजार क्षेत्रमा २३ कि.मि. विद्युत् तार भूमिगत गरिएको छ । २०६ किलोमिटर सडक बत्ती, ९१ वटा हाइमास्ट र ४१८ वटा सिसिटिभी क्यामेरा तथा स्मार्ट सडक बत्तीहरू जडान गरिएका छन् ।

– ​ठूला आयोजनाहरू: गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला, अत्याधुनिक सिटी हल र नारायणी नदीमा सिग्नेचर पुल जस्ता गौरवका आयोजनाहरू निर्माणको विभिन्न चरणमा छन् ।

​कृषि अनुदान: दूध उत्पादन गर्ने किसानलाई प्रति लिटर ४ रुपैयाँ अनुदान दिने नीति ल्याइएको छ, जसका लागि हालसम्म २२ करोड रुपैयाँ वितरण भइसकेको छ ।

– ​सिँचाइ: नारायणी लिफ्ट सिँचाइ प्रणाली र ८०० भन्दा बढी ट्युबवेलमार्फत झण्डै ८ हजार बिघा जमिनमा सिँचाइ सुविधा पुर्‍याइएको छ ।

– ​शिक्षा र स्वास्थ्य: सामुदायिक विद्यालयमा ८ हजार विद्यार्थी थपिएका छन् र छात्राहरूलाई साइकल वितरण गरिएको छ । स्वास्थ्यतर्फ, २९ वटै वडामा स्वास्थ्य संस्था स्थापना गरिएको छ र भरतपुर अस्पतालमा महिला तथा ज्येष्ठ नागरिकलाई ओपिडी टिकट निःशुल्क गरिएको छ ।

– ​नदी र निकुञ्ज व्यवस्थापन: नारायणी नदीमा तटबन्ध निर्माण गरी बाढीको जोखिम न्यूनीकरण गरिएको छ। जंगली जनावरको आक्रमण रोक्न ३६ किलोमिटर लामो मेस जाली (तारबार) लगाइएको छ ।

– ​खोला सौन्दर्यीकरण पुङ्गी र केरुङ्गा खोलाको अतिक्रमण हटाएर पर्यटकीय पदमार्ग र पार्कका रूपमा विकास गरिएको छ ।

– ​खानेपानी: महानगरका ९८ प्रतिशत जनतामा शुद्ध पिउने पानीको पहुँच पुगेको छ र मासिक ७ हजार लिटरसम्म खपत गर्नेलाई निःशुल्क गरिएको छ ।

– ​पुरस्कार र आम्दानी: कार्यसम्पादनमा भरतपुर महानगर देशकै उत्कृष्ट घोषित भएको छ र महानगरको आन्तरिक आम्दानी १ अर्ब ४० करोड पुगेको छ।



अगुल्टो अगुल्टो   
  • २०८२ माघ २, शुक्रबार ०८:१५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP