मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

बीपी राजमार्ग पुनर्निर्माण तीव्र : क्षतिग्रस्त २८ किमि खण्डमा ठेकेदारको काम द्रुतगति

2.3K
SHARES
बीपी राजमार्ग पुनर्निर्माण तीव्र : क्षतिग्रस्त २८ किमि खण्डमा ठेकेदारको काम द्रुतगति

काठमान्डु । लगातार दुई वर्षयताको बाढीपहिरोले नराम्रोसँग प्रभावित बीपी राजमार्गको पुनर्निर्माण अब द्रुतगतिमा अघि बढिएको छ । अविरल वर्षाका कारण रोशी नदी थिचिएर काभ्रेपलाञ्चोक–सिन्धुलीखण्डको करिब २८ किलोमिटर सडक क्षतिग्रस्त भएपछि सरकारले पाँच भागमा विभाजन गरी पुनर्निर्माण सुरु गरेको हो ।

यी पाँच खण्डमध्ये चार खण्डमा पर्ने २५ किलोमिटर भाग पुनर्निर्माणका लागि ठेक्का सम्झौता भई काम अहिले धमाधम भइरहेको छ । सम्झौता अनुसार सबै पुनर्निर्माण कार्य दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य छ ।

बाकी तीन किलोमिटर भाग भने जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को सहायतामा पुनःनिर्माण गरिनेछ । उक्त खण्डका लागि डिजाइन स्वीकृत भइसकेको र अहिले ठेक्का प्रक्रियामा रहेको सडक विभागले जनाएको छ ।

योजना र कार्यान्वयनको अवस्थाबारे ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा शहरी विकासमन्त्री कुलमान घिसिङले बिहीबार स्थलगत निरीक्षण गर्दै विभिन्न पक्षसँग प्रत्यक्ष जानकारी लिएका छन् । निरीक्षणमा सडक विभागका महानिर्देशक विजय जैशी तथा संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय काठमान्डुका प्रमुख शुभराज न्यौपाने पनि सहभागी रहे ।

मन्त्री घिसिङले पुनर्निर्माण भइरहेको खण्ड, निर्माणको प्रगति, यातायात सञ्चालनका लागि बनाइएको अस्थायी डाइभर्सन, जाइकासँगको सहकार्यमा बन्ने खण्डको तयारी लगायत विषयमा समीक्षा गरेका छन् । वर्षायाम सुरु हुनेबित्तिकै हालको अस्थायी डाइभर्सन उपयोग गर्न कठिन हुने भएकाले उनले वर्षा अघि नै टिकाउ संरचना बनाउन निर्देशन दिएका छन् । उनले आवश्यक जनशक्ति थप्न र विद्युत् उपलब्ध गराई रातिसम्म काम गर्ने वातावरण बनाइदिन निर्माण व्यवसायीलाई आग्रह गरे ।

जापान सरकारको अनुदानमा बनेको १६० किलोमिटर लम्बाइको बीपी राजमार्ग गत वर्षको बाढीले ३०.५ किलोमिटर क्षतिग्रस्त बनाएको थियो । अहिले इन्टरमिडियट लेनको रुपमा रहेको सडकलाई क्षतिग्रस्त भागमा दुई लेनको मानकअनुसार पुनर्निर्माण भइरहेको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ मंसिर १९, शुक्रबार ०५:२०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP