मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

एनपीएलको दोस्रो संस्करण आजदेखि, उद्घाटन खेलमा जनकपुर–काठमाडौं भिड्दै

1.8K
SHARES
एनपीएलको दोस्रो संस्करण आजदेखि, उद्घाटन खेलमा जनकपुर–काठमाडौं भिड्दै

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा हुने नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण आजदेखि सुरु हुँदैछ । क्यानले सार्वजनिक गरेको तालिका अनुसार उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाज आमनेसामने हुनेछन् ।

उद्घाटन खेल कीर्तिपुरस्थित टियु मैदानमा दिउँसो ४ बजेबाट सुरु हुनेछ । यसपटक नवनिर्मित टियु क्रिकेट मैदानको फ्लडलाइट प्रायः सबै खेलको मुख्य आकर्षण बनेको छ, जसमा अधिकांश खेल रातमा आयोजना हुनेछ ।

यस संस्करणको प्रतियोगिता सिङ्गल राउन्ड रोबिन, इलिमिनेटर र क्वालिफायर चरण पार गर्दै मङ्सिर २७ गते उपाधि भिडन्तसँगै समापन हुनेछ । कुल ३२ खेल समेटिएको यो लिग गत वर्षका ८ फ्रेन्चाइजी टिमकै सहभागितामा हुँदैछ— जनकपुर बोल्ट्स, सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, चितवन राइनोज, विराटनगर किङ्स, लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स र कर्णाली याक्स ।

टिम अक्सनमार्फत तैयार प्रत्येक टोलीले विश्वभरका स्टार क्रिकेटरहरू भित्र्याएर टिम बलियो बनाएका छन् । प्रतियोगितामा हरेक टिमले न्यूनतम चारदेखि अधिकतम छ जना विदेशी खेलाडी राख्न पाउने व्यवस्था छ । यसपटक फाफ डु प्लेसिस, जेसन रोय, वायने पार्नेल, इमरान ताहिर, क्रिस लिनजस्ता चर्चित विदेशी खेलाडीसमेत सहभागी हुँदैछन् । दोस्रो एनपीएलमा ४० भन्दा बढी विदेशी खेलाडी अनुबन्धित भइसकेका छन् ।

प्रख्यात प्रशिक्षकको उपस्थिति पनि यस संस्करणको अर्को आकर्षण बनेको छ । जनकपुरलाई गत वर्ष च्याम्पियन बनाएका पुबुदु दसनायके यसपटक विराटनगर किङ्ससँग छन् । जनकपुरले वेस्ट इन्डिजका दिग्गज ब्याट्सम्यान शिवनारायण चन्दरपललाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ । काठमाडौं गोर्खाजले नेपालका पूर्वमुख्य प्रशिक्षक मोन्टी देसाईलाई जिम्मेवारी सुम्पेको छ । पोखरा एभेन्जर्सले भारतका राजीव कुमारलाई जिम्मेवारी दिएको छ भने लुम्बिनी लाइन्सले भारतीय मूलका टिनु योहान्नालाई ल्याएको छ ।

लिग चरणको अन्तिम खेल डिसेम्बर ७ मा कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुनेछ । त्यसपछि डिसेम्बर ९ मा पहिलो क्वालिफायर, १० मा इलिमिनेटर, ११ मा दोस्रो क्वालिफायर खेलिनेछ । मङ्सिर २७ (डिसेम्बर १३) शनिबार ग्रान्ड फिनाले हुनेछ ।



अगुल्टो अगुल्टो   
  • २०८२ मंसिर १, सोमबार ०५:५४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP