मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

५० वर्षपछि भुम्लुवासीको हातमा पुर्जा : ‘जग्गा त हाम्रो थियो, तर पहिचान थिएन’

1.6K
SHARES
५० वर्षपछि भुम्लुवासीको हातमा पुर्जा : ‘जग्गा त हाम्रो थियो, तर पहिचान थिएन’

काभ्रे (भुम्लु) । करिब पाँच दशकको प्रतीक्षापछि भुम्लु गाउँपालिका ७ र ८ का स्थानीयवासीले अन्ततः ऐतिहासिक लालपुर्जा पाएका छन् । मंगलबार आयोजित कार्यक्रममा पहिलो चरणका ३७८ जनालाई जग्गाधनी प्रमाण–पत्र (लालपुर्जा) उपलब्ध गराइएपछि दशकौँदेखिको कानूनी पहिचानका अभावमा बस्दै आएका स्थानीयको चेहेरामा छुट्टै खुशी देखिएको थियो ।

८४ वर्षीया योगमाया खरेलका लागि यो खुसी उमेरसँग साट्न मिल्ने थिएन । ‘जग्गा त थियो, तर पुर्जा थिएन,’ उनले भनिन्, ‘अब छोरा–नातिलाई सहज हुने भयो ।’ भुम्लु–८ का ७८ वर्षीय तोराणबहादुर क्षेत्रीले लालपुर्जा नभएको कारण लगानी, व्यापार, ऋण र व्यवसाय सबैतर्फ अवरोध भएको याद गरे । ‘जग्गा हुँदा पनि सुकुमबासीजस्तो जीवन थियो,’ उनले विगत सम्झिए, ‘अब लालपुर्जा पाएपछि ऋण लिएर केही गर्न सकिन्छ ।’

यस्ता कथा उनीहरू मात्रैका होइनन् । भुम्लु–७ का ४७३ तथा वडा–८ का ७०४ जनाले निवेदन दिएकोमध्ये पहिलो चरणमा क्रमशः १७४ र २०४ जनाले पुर्जा पाएका हुन् ।

वि.सं. २०३२ मा भुम्लु र तत्कालीन फलाँटे गाउँबीच सिमाना विवाद भएपछि नापी भए पनि लालपुर्जा वितरण रोकिएको थियो । उक्त विवाद समाधान गर्नका लागि पछिल्लो समय सरकारबाट गठन गरिएका समिति र कार्यदलका प्रतिवेदनका आधारमा लालपुर्जा वितरण सुरु गरिएको हो ।

कार्यक्रममार्फत भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले वितरण कार्यको सुरुआत गरे । उनले सिमित व्यक्तिको स्वार्थका कारण लालपुर्जा नक्सामा मात्र सीमित भएको उल्लेख गर्दै अहिले भने प्रतिवेदनको आधारमा वितरण गरिएको जनाए ।

भुम्लु गाउँपालिका अध्यक्ष प्रेमबहादुर भुजेलका अनुसार लालपुर्जा वितरणले कानूनी पहिचान मात्र होइन, स्थानीयको आत्मविश्वास र आर्थिक गतिशीलताको ढोका खोल्नेछ । उपाध्यक्ष जितेन्द्रमान तामाङले यसलाई न्यायको ऐतिहासिक कदम भन्दै अभियानकै रूपमा सबै परिवारसम्म पुर्जा पुर्‍याइने बताए ।

हाल नापी, मालपोत र गाउँपालिकाको संयुक्त टोली गाउँमा बसेर आवदेनको लगत भर्पाइ गरिरहेका छन् । टोली आगामी १२० दिनसम्म क्षेत्रमै खटिने भएकाले यस अवधिभित्र निवेदन दिएका अधिकांशलाई पुर्जा वितरण गरिसकिने कार्ययोजना रहेको नापी कार्यालयका प्रमुख अशोककुमार भुसालले जानकारी दिए ।

लालपुर्जा वितरणपछि सबै जग्गा अभिलेखलाई मालपोत र नापीमा अद्यावधिक गराएर भुम्लु गाउँपालिकाको जग्गा प्रशासन व्यवस्थापनको नयाँ चरण सुरु हुने गाउँपालिकाले जनाएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ भाद्र ४, बुधबार ०५:०९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP