मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विनियोजन विधेयक २०८२ प्रतिनिधिसभाबाट पारित, रास्वपा र राप्रपाका सांसद अनुपस्थित

3K
SHARES
विनियोजन विधेयक २०८२ प्रतिनिधिसभाबाट पारित, रास्वपा र राप्रपाका सांसद अनुपस्थित

काठमाडौं । प्रतिनिधिसभाले आर्थिक वर्ष २०८२/८३ का लागि ल्याइएको विनियोजन विधेयक पारित गरेको छ । मंगलबार बसेको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पेश गरेको ‘विनियोजन विधेयक, २०८२’ पारित गर्नुपर्ने प्रस्ताव बहुमतले अनुमोदन गर्‍यो ।

सभामुख देवराज घिमिरेले विधेयकमा समेटिएका विभिन्न दफाहरू निर्णयार्थ प्रस्तुत गरेका थिए । छलफलका क्रममा सांसदहरू अमरेशकुमार सिंह, प्रभु साह, दुर्गा राई, प्रेम सुवाल, अमनलाल मोदी, जनार्दन शर्मा, रेखा शर्मा, चित्रबहादुर केसी, शक्तिबहादुर बस्नेत, हितराज पाण्डे, रामकुमार राई, देवेन्द्र पौडेल, माधव सापकोटा, रणेन्द्र बरालीलगायतले खर्च कटौतीको प्रस्ताव प्रस्तुत गरेका थिए । तर ती सबै प्रस्ताव बहुमतले अस्वीकृत गरियो ।

विनियोजन विधेयक अन्तर्गत विभिन्न मन्त्रालय तथा कार्यालयका शीर्षकमाथि उठेका प्रश्नको सम्बन्धित मन्त्रीहरूले जवाफ दिएका थिए । तीमध्ये श्रम, रोजगार तथा सामाजिक सुरक्षा, गृह, सञ्चार तथा सूचना प्रविधि, अर्थ, सहरी विकास, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोग, राष्ट्रपतिको कार्यालय र उपराष्ट्रपतिको कार्यालय प्रमुख थिए ।

सरकारले आगामी आर्थिक वर्षका लागि जेठ १५ गते संघीय संसद्को संयुक्त बैठकमा १८ खर्ब ६५ अर्ब ८४ करोड रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको थियो । त्यसपछिका बैठकहरूमा सामान्य तथा मन्त्रालयगत शीर्षकमाथि विस्तृत छलफल गरिएको थियो । छलफलका क्रममा उठेका जिज्ञासामाथि सम्बन्धित मन्त्रीहरूले स्पष्टिकरण दिएका थिए ।

रास्वपा र राप्रपाका सांसद अनुपस्थित
मंगलबार प्रतिनिधिसभाबाट विनियोजन विधेयक पारित हुने क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसदहरू बैठकमा उपस्थित भएनन् । दुवै दलले बजेटमाथिको सम्पूर्ण छलफल बहिष्कार गरेका हुन् ।

गृहमन्त्रीको राजीनामाको माग गर्दै आएका रास्वपा र राप्रपाले भिजिट भिसा प्रकरणको निष्पक्ष छानबिनका लागि संसदीय छानबिन समिति वा उच्चस्तरीय न्यायिक आयोग गठनको माग गर्दै आएका छन् । तर, माग सुनुवाइ नभएको भन्दै जेठ १३ यता ती दलका सांसदहरूले सदनको कुनै पनि प्रक्रियामा सहभागिता जनाएका छैनन् ।

बजेट पारित गर्ने अत्यन्त महत्वपूर्ण दिनमा पनि उनीहरू अनुपस्थित रहँदा प्रतिनिधिसभा बैठकमा ती दलको असन्तुष्टि पुनः देखिएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ असार १०, मंगलवार १३:१६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP