मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

‘जनतामा निराशा बढ्दो छ, सबै दल राष्ट्रिय मुद्दामा एक हुनुपर्छ’

663
SHARES
‘जनतामा निराशा बढ्दो छ, सबै दल राष्ट्रिय मुद्दामा एक हुनुपर्छ’

काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेश सिंहले मुलुकमा बढ्दो निराशाजनक अवस्थाप्रति संसद्को ध्यानाकर्षण गराउँदै सरकार जनताको अपेक्षा पूरा गर्न असफल भएको बताएका छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले अहिले व्यवसायी, विद्यार्थी, युवा तथा आम नागरिकमा भविष्यप्रतिको विश्वास कमजोर बन्दै गएको टिप्पणी गरे । उनले देशमा आशाको वातावरण सिर्जना गर्न सरकार सफल हुन नसकेको दाबी गरे ।

आफ्नो निर्वाचन क्षेत्र सर्लाहीका युवा विवेक मण्डलको आत्मदाहपछि भएको निधनप्रति श्रद्धाञ्जली अर्पण गर्दै सिंहले उक्त घटनाले आफू अत्यन्त मर्माहत भएको बताए । उनले यही साताभित्र तीन जना युवाले आत्मदाह गरेको उल्लेख गर्दै यसलाई समाजमा गहिरिँदै गएको निराशाको संकेतका रूपमा लिनुपर्ने धारणा राखे ।

सांसद सिंहले राज्य सञ्चालन गर्ने जिम्मेवारीमा रहेका सबै पक्षले जनताको पीडा बुझ्नुपर्ने आवश्यकता औँल्याए । ‘देशमा बाँच्न र केही गर्न सकिँदैन भन्ने सोच फैलिन थालेको छ । संसद्ले यस्तो निराशाजनक भाष्यलाई थप बल पुग्ने काम गर्नु हुँदैन,’ उनले भने ।

उनले सत्ता अस्थायी भए पनि जनता र लोकतन्त्र स्थायी हुने उल्लेख गर्दै राजनीतिक दलहरूबीच प्रतिस्पर्धाभन्दा राष्ट्रिय हितलाई प्राथमिकता दिन आग्रह गरे । ‘आज सत्ता हाम्रो हातमा होला, भोलि नहुन पनि सक्छ । तर जनता र लोकतन्त्र सुरक्षित रहे मात्र राजनीति पनि सुरक्षित रहन्छ,’ उनले बताए ।

सिंहले मुलुक अहिले जटिल अवस्थाबाट गुज्रिरहेको भन्दै साझा राष्ट्रिय एजेन्डामा सबै राजनीतिक दल एकजुट हुनुपर्ने आवश्यकता औँल्याए । सभामुखमार्फत उनले संसद्मा राष्ट्रिय मुद्दामाथि केन्द्रित बहस अघि बढाउन आग्रह गर्दै सबै दलको सहकार्यबाट मात्रै देशलाई वर्तमान संकटबाट बाहिर निकाल्न सकिने विश्वास व्यक्त गरे ।



अगुल्टो अगुल्टो   
  • २०८३ असार ३०, मंगलवार ०७:२२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP