मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

जातीय झाँकी प्रतियोगिताले संस्कृति संरक्षण र एकताको सन्देश दिनेछ

208
SHARES
जातीय झाँकी प्रतियोगिताले संस्कृति संरक्षण र एकताको सन्देश दिनेछ

ओखलढुंगाको खिजीदेम्बामा यहि चैत २८ देखि ३० चैतसम्म आयोजना हुन लागेको जातीय झाँकी प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । यसै सन्दर्भमा नेपाल आदिबासी जनजाति महासंघ खिजीदेम्बा समन्वय परिषद्का अध्यक्ष कमलकृष्ण तामाङसँग गरिएको कुराकानीको सम्पादित अंशः

👉 जातीय झाँकी प्रतियोगिताको तयारी कुन चरणमा पुगेको छ ?
तयारी करिब ९९ प्रतिशत पूरा भइसकेको छ। नेवार समुदायबाट तीन समूह तथा तामाङ, शेर्पा, सुनुवार र भुजेल समुदायबाट २र२ समूहको सहभागिता रहनेछ । मगर र गुरुङ समुदायको सहभागिता भने अनिश्चित छ । समग्रमा तयारी राम्रो छ ।

👉 यस कार्यक्रमको मुख्य उद्देश्य के हो ?
मुख्य उद्देश्य जातीय संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्नु हो । विभिन्न समुदायका मौलिक परम्परा, उत्पत्ति र पहिचान झल्काउने झाँकी प्रस्तुत गरिनेछ । यसले विविध संस्कृतिलाई एकै ठाउँमा ल्याएर संरक्षण गर्न मद्दत गर्छ ।

👉 प्रतियोगिताले स्थानीय समुदायलाई कसरी लाभ पुर्‍याउँछ ?
यसले स्थानीय समुदायबीच एकता बढाउँछ, सांस्कृतिक चेतना अभिवृद्धि गर्छ र नयाँ पुस्तामा आफ्नो पहिचानप्रति गर्वको भावना विकास गराउँछ ।

👉 यसको लागत र पुरस्कार रकम कति छ ?
कुल पुरस्कार राशि १२ लाख रुपैयाँ रहेको छ । कर कटौतीपछि करिब १० लाख रुपैयाँ खर्च गरिनेछ । साथै प्रतियोगितामा पहिलो हुनेलाई ५१ हजार, दोस्रोलाई २५ हजार र तेस्रोलाई १५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने छ । स्थानीय सरकारको नियमअनुसार कर कट्टी गरेर पुरस्कार वितरण गरिनेछ ।

👉 संस्थाका अन्य गतिविधिहरू के–के छन् ?
हाम्रो संस्थाले वडा स्तरबाटै संस्कृति संरक्षणका कार्यक्रम सञ्चालन गर्दै आएको छ । जनजाति महोत्सव, सरसफाइ अभियान लगायतका कार्यहरू नियमित रूपमा हुँदै आएका छन् ।

👉 विभिन्न समुदायबीच समन्वय कसरी भइरहेको छ ?
यस क्षेत्रमा शेर्पा, तामाङ र सुनुवार समुदायको बाक्लो बसोबास छ । हामी सबैलाई समेटेर साझा पहिचान र सहकार्यको भावना विकास गर्दै अघि बढिरहेका छौँ ।

👉 पर्यटन विकासका लागि के योजना छन् ?
यहाँ होमस्टे विकास, परम्परागत थेरापी सेवा, तथा स्थानीय औषधीय पेय पदार्थको प्रवर्द्धन गर्ने योजना छन् । तामाङ संस्कृति झल्कने होमस्टेले पर्यटक आकर्षित गर्ने विश्वास छ ।

👉 यस्तो कार्यक्रमलाई दीर्घकालीन रूपमा कसरी निरन्तरता दिन सकिन्छ ?
स्थानीय सरकार, संघसंस्था र समुदायको सहकार्य आवश्यक हुन्छ । युवाहरूको सक्रिय सहभागिता र आर्थिक व्यवस्थापन बलियो भए कार्यक्रम दीर्घकालीन रूपमा सफल हुन्छ ।

👉 अन्त्यमा आम बासिन्दालाई के सन्देश दिन चाहनुहुन्छ ?
यो महोत्सवलाई भव्य रूपमा सफल बनाउन सबैमा सहयोगका लागि अनुरोध गर्दछु । यसले सबै जनजातिबीच एकता सुदृढ बनाउँछ र विकासको बाटोमा अघि बढ्न प्रेरित गर्छ । साथै कोशी प्रदेशका भौतिक योजना मन्त्री प्रदीपकुमार सुनुवार प्रमुख अतिथिको रूपमा सहभागी हुनुहुनेछ, उहाँप्रति आभार व्यक्त गर्दछु ।



अगुल्टो अगुल्टो   
  • २०८२ चैत्र २६, बिहीबार २३:१७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP