मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

सुनुवार समुदायको भाषा, संस्कृति र परम्परा संरक्षणका लागि राष्ट्रिय सांस्कृतिक सम्मेलन सम्पन्न

442
SHARES
सुनुवार समुदायको भाषा, संस्कृति र परम्परा संरक्षणका लागि राष्ट्रिय सांस्कृतिक सम्मेलन सम्पन्न

काठमाडौं । सुनुवार समुदायको मौलिक भाषा, संस्कृति, परम्परा, कला तथा सांस्कृतिक पहिचानको संरक्षण, संवर्द्धन र पुस्तान्तरण गर्ने उद्देश्यले आयोजित राष्ट्रिय सांस्कृतिक सम्मेलन–२०८३ काठमाडौंमा सम्पन्न भएको छ । सुनुवार सेवा समाजको आयोजनामा तथा आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको सहकार्यमा कोटेश्वरस्थित संघीय समितिको कार्यालयमा सम्मेलन भव्य रूपमा सम्पन्न भएको हो ।

सुनुवार सेवा समाजका अध्यक्ष अमृत बहादुर सुनुवारको अध्यक्षता तथा नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष नीमा ह्यल्मो लामाको प्रमुख आतिथ्यतामा सम्पन्न सम्मेलनको उद्घाटन सुनुवार समुदायका अग्रज व्यक्तित्वहरूले परम्परागत विधिअनुसार गरेका थिए । कार्यक्रममा देशका विभिन्न जिल्लाबाट आएका सांस्कृतिक अभियन्ता, भाषा विज्ञ, अनुसन्धानकर्ता तथा युवा प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

सुनुवार विधिबाट पिदार गरेर सुरुवात भएको सम्मेलनमा राष्ट्रिय आदिवासी जनजाति महिला महासंघकी अध्यक्ष शोभा सुनुवारले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् । कार्यक्रममा सुनुवार जातिको अमूर्त सांस्कृतिक सम्पदा अन्तर्गत मातृभाषा, लोकगीत, लोकनृत्य, मौखिक परम्परा, रीतिरिवाज, संस्कार तथा परम्परागत ज्ञानको संरक्षण र प्रवर्द्धनका विषयमा व्यापक छलफल गरिएको थियो ।

आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका निमित्त सदस्य सचिव राम मादेनले विश्वव्यापीकरण र आधुनिकताको प्रभावका कारण आदिवासी जनजातिका मौलिक संस्कृतिहरू लोपोन्मुख बन्दै गएको उल्लेख गर्दै तिनको संरक्षणका लागि राज्य, समुदाय र सरोकारवाला निकायबीच प्रभावकारी सहकार्य आवश्यक रहेको बताए । उनले सुनुवार भाषा र संस्कृतिलाई आगामी पुस्तासम्म हस्तान्तरण गर्न अनुसन्धान, अभिलेखीकरण तथा सांस्कृतिक शिक्षामा विशेष जोड दिनुपर्ने धारणा राखे ।

त्यसैगरी संविधानसभा सदस्य यज्ञराज सुनुवारले नेपालका आदिवासी जनजातिहरूको आफ्नै मौलिक विशेषता र पहिचान रहेको भए पनि पछिल्लो समय समुदायमा आशाभन्दा निराशा बढ्दै गएको बताए । उनले भाषा, संस्कृति र पहिचानको खोज तथा संरक्षणका लागि यस्ता सम्मेलनहरू अत्यन्त महत्वपूर्ण हुने धारणा व्यक्त गरे ।

प्रमुख अतिथि नीमा लामा ह्याल्मोले आदिवासी समुदायको पहिचान भाषा, संस्कृति र संस्कारसँग जोडिएको उल्लेख गर्दै भौतिक तथा अभौतिक सांस्कृतिक सम्पदाको संरक्षणमा युवाहरूको भूमिका निर्णायक हुने बताए । उनले सांस्कृतिक सम्पदाको संरक्षण र पुस्तान्तरणका लागि नयाँ पुस्तालाई सक्रिय रूपमा सहभागी गराउनुपर्ने आवश्यकता औँल्याए ।

सम्मेलनमा सुनुवार समुदायका परम्परागत ढोल नाच तथा मौलिक भेषभूषाको प्रदर्शन गरिएको थियो । विभिन्न प्रकारका ‘दुले’ (ढोल) तथा मौलिक बाजागाजाको प्रस्तुतिले सहभागीहरूलाई समुदायको समृद्ध सांस्कृतिक विरासतसँग परिचित गराएको थियो ।

अध्यक्ष अमृत बहादुर सुनुवारले आदिवासी समुदायहरूको आफ्नै निश्चित भूमि, पृथक भाषा, कला, परम्परा, जीवनशैली, प्रथाजन्य कानुन, सामाजिक संस्था तथा मौलिक बाजाहरू रहेको उल्लेख गर्दै यिनको संरक्षण समुदायको साझा दायित्व भएको बताए । उनले परम्परागत बाजा तथा ढोलहरूको आफ्नै सांस्कृतिक महत्व र ऐतिहासिक विशेषता रहेको धारणा राखे ।

कार्यक्रमअन्तर्गत आयोजित छलफल सत्रमा सुनुवार सेवा समाजका पूर्व महासचिव समिर मुखिया सुनुवार, श्याम सुनुवार, टीकाराम सुनुवार तथा सुसेस अध्यक्ष अमृतबहादुर सुनुवारले आफ्नो धारणा राखेका थिए । छलफल विशेषगरी रामेछापको प्लेत्ती (प्रिती) मा मनाइने शाँदर (चण्डी) पर्व, त्यसको सांस्कृतिक महत्व र संरक्षणका उपायहरूमा केन्द्रित रहेको थियो ।

सम्मेलनले सुनुवार समुदायको ऐतिहासिक तथा सांस्कृतिक पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्न यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको आयोजकले जनाएको छ । सम्मेलनबाट समुदायको भाषा, संस्कृति र परम्पराको संरक्षण तथा पुस्तान्तरणमा थप ऊर्जा मिल्ने अपेक्षा गरिएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८३ जेष्ठ ३१, आईतवार १२:५९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP