मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यकामा ट्राफिक चेकजाँच कडा, दुर्घटना न्यूनीकरणका लागि विशेष अभियान

2K
SHARES
उपत्यकामा ट्राफिक चेकजाँच कडा, दुर्घटना न्यूनीकरणका लागि विशेष अभियान

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले काठमाडौं उपत्यकामा बढ्दो सवारी चापसँगै दुर्घटनाका घटना बढ्न थालेपछि ट्राफिक नियम कार्यान्वयनमा कडाइ गरेको छ । मुख्य सडक, व्यस्त चोक तथा उपत्यका प्रवेश गर्ने प्रमुख नाकाहरूमा विशेष चेकजाँच अभियान सञ्चालन गरिएको प्रहरीले जनाएको छ ।

विशेषगरी नागढुङ्गा, कलङ्की, कोटेश्वर, चाबहिल, जडीबुटी, बल्खु, महाराजगञ्ज र नयाँ बसपार्क क्षेत्रमा ट्राफिक निगरानी बढाइएको छ । यात्रुवाहक तथा मालवाहक सवारीसाधनलाई लक्षित गर्दै क्षमता भन्दा बढी यात्रु बोक्ने, मापसे गरेर गाडी चलाउने, तीव्रगति गर्ने तथा प्राविधिक रूपमा कमजोर सवारीमाथि निगरानी कडा पारिएको जनाइएको छ ।

ट्राफिक प्रहरीले सडक सुरक्षालाई प्राथमिकतामा राख्दै चालक तथा यात्रु दुवैलाई जिम्मेवार बन्न आग्रह गरेको छ । पछिल्लो समय हुने अधिकांश दुर्घटनामा चालकको लापरबाही, अनियन्त्रित गति, मोबाइल प्रयोग गर्दै सवारी चलाउने तथा जोखिमपूर्ण ओभरटेक मुख्य कारण देखिएको प्रहरीको भनाइ छ ।

अभियानको नेतृत्व स्वयम् कार्यालय प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले गरिरहेका छन् । उनी दिउँसोदेखि रातिसम्म विभिन्न सडक क्षेत्रमा पुगेर ट्राफिक व्यवस्थापन, सवारी जाँच तथा चालकलाई सचेतना दिने कार्यमा सक्रिय रहेका छन् ।

नागढुङ्गा नाकामा गरिएको अनुगमनका क्रममा ट्राफिक प्रहरी प्रमुख अधिकारीले सार्वजनिक सवारी चालकलाई यात्रुको सुरक्षामा विशेष ध्यान दिन निर्देशन दिएका छन् । उनले सवारीसाधनको नियमित प्राविधिक परीक्षण गर्न, सिट क्षमताभन्दा बढी यात्रु नराख्न तथा ट्राफिक नियमको पूर्ण पालना गर्न आग्रह गरे ।

ट्राफिक प्रहरीका अनुसार लामो दूरीका सार्वजनिक सवारीसाधनको अवस्था, चालकको स्वास्थ्य परीक्षण तथा यात्रु सुरक्षासम्बन्धी मापदण्डमाथि पनि निगरानी थालिएको छ । विशेष टोली परिचालन गरी रातिको समयमा समेत चेकजाँच अभियान सञ्चालन भइरहेको जनाइएको छ ।

सडक अनुशासन कायम गर्न ट्राफिक प्रहरीले विद्यालय, कलेज तथा सार्वजनिक स्थलमा सचेतनामूलक कार्यक्रमसमेत सञ्चालन गरिरहेको छ । युवापुस्तालाई लक्षित गरी ट्राफिक नियमसम्बन्धी जानकारी, सुरक्षित यात्रा र दुर्घटना न्यूनीकरणका उपायबारे प्रशिक्षण दिइँदै आएको प्रहरीले जनाएको छ ।

उपत्यकामा सवारीको अत्यधिक चापले सडक व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको अवस्थामा ट्राफिक प्रहरीले आगामी दिनमा अभियानलाई अझ प्रभावकारी बनाउने तयारी गरेको छ । कार्यालयले सुरक्षित, व्यवस्थित र अनुशासित यातायात प्रणाली विकास गर्ने उद्देश्यले चेकजाँच तथा जनचेतना कार्यक्रमलाई निरन्तरता दिइने जनाएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८३ बैशाख २५, शुक्रबार ०१:०९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP