मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

ब्राजिलको क्याम्पियोनातो मिनेरो फाइनलमा कुटाकुट, २३ खेलाडीलाई रातो कार्ड

819
SHARES
ब्राजिलको क्याम्पियोनातो मिनेरो फाइनलमा कुटाकुट, २३ खेलाडीलाई रातो कार्ड

काठमाडौं । ब्राजिलको राज्यस्तरीय प्रतिष्ठित फुटबल प्रतियोगिता क्याम्पियोनातो मिनेरोको फाइनल खेलमा ठूलो झडप भएपछि दुवै टोलीका गरी २३ खेलाडीलाई रातो कार्ड देखाइएको छ । खेलको अन्त्यतिर भएको झडपका कारण मैदान तनावपूर्ण बनेको थियो ।

सोमबार भएको फाइनलमा क्रुजेरो इस्पोर्टे क्लब र एट्लेटिको मिनेरो क्लबबीच प्रतिस्पर्धा भएको थियो । खेल ब्राजिलको चर्चित मिनेराओ स्टेडियममा आयोजना गरिएको थियो । निर्धारित समयको खेलमा क्रुजेरोले १–० गोलको जित निकाल्दै उपाधि हात पार्यो ।

खेलको अधिकांश समय प्रतिस्पर्धात्मक भए पनि अन्तिम चरणमा खेलाडीहरूबीच विवाद बढ्दै गएपछि अवस्था नियन्त्रण बाहिर गएको थियो । मैदानमा दुवै टोलीका खेलाडीहरूबीच धक्का–मुक्का, तानातान र हात हालाहालसम्मको स्थिति बनेपछि खेल केहीबेर अवरुद्धसमेत भएको थियो ।

टक्करपछि सुरु भयो झडप
झडप क्रुजेरोका मिडफिल्डर क्रिस्टियन र एट्लेटिको मिनेरियोका गोलकिपर एभर्सनबीचको टक्करबाट सुरु भएको बताइएको छ ।

टक्करपछि एभर्सनले क्रिस्टियनलाई धक्का दिँदै प्रहार गरेपछि दुवै टोलीका खेलाडीहरू एकअर्कातर्फ आक्रामक रूपमा उत्रिएका थिए । केहीबेरमै मैदानमा रहेका अधिकांश खेलाडीहरू झगडामा संलग्न भएपछि स्थिति झन् जटिल बनेको थियो ।

२३ खेलाडीलाई रातो कार्ड
खेलका रेफ्री माथेउस क्यानडान्सानले झडप अत्यन्त ठूलो भएकाले तत्काल सबै खेलाडीलाई मैदानमै कार्ड देखाउन सम्भव नभएको बताएका छन् । खेलपछि तयार पारिएको आधिकारिक प्रतिवेदनमा भने कुल २३ खेलाडीलाई रातो कार्ड दिइएको उल्लेख गरिएको छ ।

प्रतिवेदनअनुसार क्रुजेरोका १२ खेलाडी—कासियो, फाग्नेर, फाब्रिसियो ब्रुनो, जोआओ मार्सेलो, विलाल्बा, काउआ प्रातेस, क्रिस्टियन, लुकास रोमेरो, मातेउस एनरिके, वालेस, गेर्सन र काइओ जोर्जे—निष्कासित भएका छन् ।

त्यसैगरी एट्लेटिको मिनेरियोका ११ खेलाडी—एभर्सन, गाब्रिएल डेल्फिम, प्रेसीआदो, ल्याङ्को, रुआन ट्रेसोल्डी, जुनियर अलोन्सो, रेना लोदी, एलान फ्रान्को, एलान मिन्डा, कासिएरा र हल्कलाई पनि रातो कार्ड देखाइएको छ ।

अनुशासनात्मक कारबाहीको सम्भावना
घटनापछि ब्राजिलियन फुटबल अधिकारीहरूले थप अनुसन्धान गर्ने बताएका छन् । झडपमा संलग्न खेलाडीहरूलाई आगामी खेलमा निलम्बन, जरिवाना वा थप अनुशासनात्मक कारबाही हुन सक्ने सम्भावना रहेको छ ।

फुटबल विश्लेषकहरूका अनुसार एकै खेलमा यति धेरै खेलाडी निष्कासित हुनु अत्यन्त दुर्लभ घटना हो । यद्यपि विश्व फुटबल इतिहासमा सबैभन्दा धेरै रेड कार्ड देखाइएको घटना सन् २०११ मा अर्जेन्टिनामा भएको खेलमा भएको थियो ।

त्यसबेला क्लब एट्लेटिको क्लेपोले र भिक्टोरियानो अरेनासबीचको खेलमा भएको झडपपछि रेफ्रीले दुवै टोलीका खेलाडी र बेन्चका सदस्यसहित कुल ३६ जनालाई रातो कार्ड देखाएका थिए ।

ब्राजिलको यो घटना पनि पछिल्ला वर्षहरूमा फुटबल मैदानमा भएको सबैभन्दा ठूलो झडपमध्ये एक मानिएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ फाल्गुन २६, मंगलवार ०७:३६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP