मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

वायु प्रदूषण खतरनाक स्तरमा, स्वास्थ्य मन्त्रालयले घरबाहिर ननिस्कन आग्रह

1.1K
SHARES
वायु प्रदूषण खतरनाक स्तरमा, स्वास्थ्य मन्त्रालयले घरबाहिर ननिस्कन आग्रह

काठमाडौं । काठमाडौं उपत्यकासहित देशका प्रमुख शहरहरूमा पछिल्लो समय वायु प्रदूषण उच्च स्तरमा पुगेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नागरिकलाई सतर्क रहन आग्रह गरेको छ ।

मन्त्रालयले वायुमा हानिकारक कणको मात्रा अत्यधिक बढेकाले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन सुझाव दिएको हो । प्रदूषणले मानव स्वास्थ्यमा गम्भीर असर पार्न सक्ने भन्दै विशेष सावधानी अपनाउन आग्रह गरिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार काठमाडौं, पोखरा, विराटनगर लगायत तराईका विभिन्न क्षेत्रको हावामा सूक्ष्म कण ‘पार्टिकुलेट म्याटर (पिएम २.५)’ को मात्रा उल्लेख्य रूपमा बढेको छ । उनका अनुसार यी सूक्ष्म कण श्वासप्रश्वास तथा छालामार्फत शरीरभित्र प्रवेश गरी स्वास्थ्यमा गम्भीर समस्या निम्त्याउन सक्छन् ।

मन्त्रालयका अनुसार प्रदूषणका कारण ज्येष्ठ नागरिक, गर्भवती महिला, पाँच वर्षमुनिका बालबालिका तथा दीर्घरोगीहरू बढी जोखिममा छन् । यस्ता व्यक्तिहरूले विशेष सावधानी अपनाउनुपर्ने बताइएको छ ।

प्रवक्ता बुढाथोकीले वायु प्रदूषणले सामान्य आँखा पोल्ने, दुख्ने तथा दृष्टिमा समस्या ल्याउने मात्र नभई मुटु, मिर्गौला र श्वासप्रश्वाससम्बन्धी गम्भीर रोगका साथै क्यान्सरसमेत हुन सक्ने चेतावनी दिएका छन् ।

प्रदूषणबाट बच्न स्वास्थ्य मन्त्रालयले विशेषगरी बिहान र साँझको समयमा घरबाहिर ननिस्कन सुझाव दिएको छ । यी समयमा वायुमण्डलको तल्लो तहमा प्रदूषणयुक्त कणहरू बढी जम्ने भएकाले मर्निङ वाक वा इभिनिङ वाक नगर्न आग्रह गरिएको हो ।

यदि बाहिर निस्कनै पर्ने अवस्था आएमा अनिवार्य रूपमा मास्क प्रयोग गर्न, आँखा जोगाउन चस्मा लगाउन तथा शरीर पूरै ढाकिने कपडा र टोपी प्रयोग गर्न मन्त्रालयले सुझाव दिएको छ ।

वायु प्रदूषण न्यूनीकरणका लागि स्वास्थ्य मन्त्रालयले उद्योग, भौतिक पूर्वाधार, कृषि, वन तथा वातावरण मन्त्रालयसँग समन्वय गर्दै काम गरिरहेको जनाएको छ । सवारीसाधनबाट निस्कने धुवाँ, उद्योग–कलकारखानाको प्रदूषण, कृषिमा विषादीको प्रयोग, जथाभावी फोहोर तथा प्लास्टिक जलाउने कार्य र वन डढेलो नियन्त्रण नभएसम्म समस्या समाधान हुन नसक्ने मन्त्रालयको भनाइ छ ।

तत्कालका लागि भने नागरिकले आफ्नै स्वास्थ्य सुरक्षामा ध्यान दिँदै प्रदूषणको प्रत्यक्ष असरबाट बच्न सावधानी अपनाउनु आवश्यक रहेको मन्त्रालयले जनाएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ फाल्गुन २६, मंगलवार ०७:००
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP