मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्र बैंकले सार्वजनिक गर्यो तीन महिनाको आर्थिक प्रतिवेदन, मुद्रास्फीति न्यूनस्तरमै

2.2K
SHARES
राष्ट्र बैंकले सार्वजनिक गर्यो तीन महिनाको आर्थिक प्रतिवेदन, मुद्रास्फीति न्यूनस्तरमै

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबार आर्थिक वर्ष २०८२/८३ का पहिलो तीन महिनाको समग्र आर्थिक तथा वित्तीय सूचकांकसहितको प्रतिवेदन सार्वजनिक गरेको छ । असोज मसान्तसम्मको आधारमा तयार गरिएको प्रतिवेदनले देशको अर्थतन्त्र सावधानीपूर्वक अघि बढिरहेको तर केही सूचकहरूमा सुधारका संकेत देखिएको उल्लेख गरेको छ ।

मुद्रास्फीति १.४७ प्रतिशतमा सीमित
राष्ट्र बैंकका अनुसार उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित वार्षिक विन्दुगत मुद्रास्फीति १.४७ प्रतिशतमा सीमित भएको छ । पछिल्लो समय खाद्यान्न तथा उपभोग्य वस्तुहरूको मूल्यवृद्धि नियन्त्रणमा रहनुले मुद्रास्फीति दबाब घटेको प्रतिवेदनले जनाउँछ ।

विशेषगरी कृषि उत्पादन बढ्नु, आपूर्ति व्यवस्थामा सहजता आउनु तथा पेट्रोलियम पदार्थको मूल्य स्थिर रहनुले मूल्य वृद्धि न्यून हुन मद्दत गरेको विश्लेषण पनि प्रतिवेदनमा समावेश गरिएको छ ।

विदेशी मुद्राको सञ्चिति उच्च स्तरमा
विदेशी विनिमय सञ्चिति रु २९७९ अर्ब ८१ करोड पुगेको राष्ट्र बैंकले जनाएको छ । यो रकम अमेरिकी डलरमा २१ अर्ब २१ करोड बराबर हुन्छ । प्रतिवेदनअनुसार यस्तो सञ्चिति देशको १६।४ महिनासम्मको वस्तु तथा सेवा आयात धान्न पर्याप्त छ, जुन नेपालका लागि सकारात्मक आर्थिक संकेत मानिन्छ ।

विदेशी मुद्राको सञ्चिति उच्च हुनुले अन्तर्राष्ट्रिय बजारबाट आवश्यक बस्तु आयात गर्न सहज हुने, निजी क्षेत्रको व्यवसायिक वातावरण पनि स्थिर रहन मद्दत गर्ने विश्लेषकहरूको भनाइ छ ।

चालु खाता र शोधनान्तर दुवै बचतमा
प्रतिवेदनले चालु खाता रु २३७ अर्ब ५९ करोडले बचतमा रहेको जनाएको छ । यस्तै शोधनान्तर रु २६४ अर्ब ३ करोडले सकारात्मक रहेको छ । चालु खाता लगातार सुधारिनुमा मुख्यतः विप्रेषणको उच्च वृद्धिदर र आयात घटेर निर्यात बढ्ने प्रवृत्तिको योगदान रहेको राष्ट्र बैंकको भनाइ छ ।

विप्रेषण प्रवाहमा उल्लेखनीय वृद्धि
नेपालले विप्रेषण प्रवाहमा अत्यधिक वृद्धि भएको छ । प्रतिवेदनअनुसार विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा ३५.४ प्रतिशत र अमेरिकी डलरमा २९.२ प्रतिशतले बढेको छ । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा कुल विप्रेषण रु २०१ अर्ब २२ करोड पुगेको छ । विदेशिने श्रमिक संख्या बढ्नु, वैदेशिक रोजगारमा सहजता आउनु र औपचारिक माध्यमबाट पैसा पठाउने प्रवृत्ति बढ्नु यो वृद्धिको प्रमुख कारण हुन् ।

व्यापार सुविधामा सुधार
देशको निर्यात ८९.६ प्रतिशतले बढेको छ भने आयात १९.८ प्रतिशतले बढ़ेको प्रतिवेदनले जनाउँछ । निर्यात वृद्धि दर आयातभन्दा धेरै उच्च हुँदा व्यापार घाटा केही हदसम्म कम हुन सहयोग पुगेको विश्लेषण प्रतिवेदनले गरेको छ ।

विशेषगरी विद्युतीय सामग्री, कृषि उत्पादन र घरेलु उद्योगका वस्तुको निर्यात बढेको देखिन्छ ।

सरकारको खर्च र राजस्व
नेपाल सरकारको खर्च रु ३६४ अर्ब ५९ करोड पुगेको छ भने सरकारले रु २४९ अर्ब ५ करोड राजस्व संकलन गरेको छ । राजस्व संकलन अपेक्षाकृत सुस्त रहे पनि सरकारी खर्चको गति तेज भएको देखिन्छ । अर्थतन्त्रमा तरलता सुधार गर्न सरकारले पुँजीगत खर्च छिटो गर्ने प्रयास गरिरहेको प्रतिवेदनले उल्लेख गर्दछ ।

समग्र मूल्यांकन
समग्रमा हेर्दा, मुद्रास्फीति न्यून, विदेशी मुद्रा सञ्चिति मजबूत, विप्रेषण प्रवाह उच्च र निर्यात वृद्धिदर उत्साहजनक देखिएको प्रतिवेदनले नेपालका लागि सकारात्मक आर्थिक वातावरणको संकेत गरेको छ ।
तर, राजस्व संकलनको कम दर, आयात–निर्यात असन्तुलन र सरकारी खर्चको असमान गुणस्तर भने आगामी महिनामा चुनौतीका रूपमा रहने राष्ट्र बैंकको मूल्यांकन छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ कार्तिक ३०, आईतवार ०८:०७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP