मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मधेस प्रदेशमा राजनीतिक तनावः उपसभामुखद्वारा चौरमै बैठक सञ्चालन

1.6K
SHARES
मधेस प्रदेशमा राजनीतिक तनावः उपसभामुखद्वारा चौरमै बैठक सञ्चालन

काठमाडौं । मधेस प्रदेशमा सरकार गठनदेखि लिएर सभामुखको भूमिकासम्मका विवादले राजनीतिक अवस्था झन् जटिल बन्दै गएको छ । सभामुख रामचन्द्र मण्डलविरुद्ध अविश्वास प्रस्ताव दर्ता भइसकेपछि उपसभामुख बबिताकुमारी राउतले चौरमै प्रदेशसभा बैठक सञ्चालन गर्दै प्रक्रिया अगाडि बढाएकी छन् ।

उपसभामुख राउतले अविश्वास प्रस्ताव दर्ता भइसकेपछि सभामुखले सांसद पदमुक्त गर्ने अधिकार नहुने स्पष्ट गर्दै हाल भइरहेका निर्णयहरू प्रक्रियाबाहिर गएको आरोप लगाएकी छन् ।

मुख्यमन्त्री नियुक्ति र सभामुखको निर्णयविरुद्ध सात दलको आन्दोलन
सात राजनीतिक दलले मुख्यमन्त्री नियुक्ति असंवैधानिक भएको दाबी गर्दै जनकपुरमा निरन्तर प्रदर्शन गरिरहेका छन् । उनीहरूले सभामुख मण्डलले पदीय आचरणविपरीत निर्णय गर्दै प्रदेशसभाको अधिकार हनन गरेको आरोप लगाएका छन् । यसअघि पनि प्रदेशसभा सदस्यहरूले मधेस भवन अगाडि धर्ना दिएका थिए ।

पूर्व प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको धारा १६८(३) अनुसार नेकपा एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई कात्तिक २३ गते मुख्यमन्त्री नियुक्त गरी भोलिपल्ट होटलमा शपथ गराएकी थिइन् । तर सात दलले आफूहरूलाई ७४ सांसदको समर्थन रहेको दाबी गर्दै धारा १६८(२) अनुसार बहुमतको आधारमा सरकार गठन हुनुपर्ने अडान राख्दै आएका छन् ।

अविश्वास प्रस्ताव र सांसद पदमुक्तिले विवाद तीव्र
सभामुख मण्डलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने क्रममा प्रदेशसभा परिसरमै सांसदहरूबीच धकेलाधकेल र हातपात भएको घटनाले राजनीतिक तापक्रम झनै बढाएको छ । त्यसपछि सभामुख मण्डलले पाँच सांसदलाई पदमुक्त गर्ने निर्णय लिए, जसले थप विवाद सिर्जना गरेको छ ।

उपसभामुखले भने सभामुखले अविश्वास प्रस्ताव दर्ता भइसकेपछि कुनै पनि सांसदलाई पदमुक्त गर्न नपाइने भन्दै सभामुखको कदम असंवैधानिक रहेको बताएकी छन् ।

सात दलीय मोर्चाको शक्ति प्रदर्शन जारी
सरकार गठन र सभामुखका निर्णयविरुद्ध सात दलीय मोर्चाले शनिबार पनि जनकपुरमा शक्ति प्रदर्शन गर्दै सडक आन्दोलनलाई निरन्तरता दिएको छ । उनीहरूले प्रदेशमा संविधानसम्मत सरकार गठन र सभामुखको ‘मनपरी निर्णय’ खारेज गर्नुपर्ने माग राखेका छन् ।

मधेस प्रदेशको यस ताजा राजनीतिक परिस्थितिले सरकार सञ्चालनदेखि प्रदेशसभा गतिविधि नै प्रभावित भएको छ भने स्थिरताका लागि सबै पक्षबीच सहमतिको आवश्यकता देखिएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ कार्तिक २९, शनिबार १२:१८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP