मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

वरिष्ठ गायिका इन्दिरा गोले गुरुङको निधन

2.4K
SHARES
वरिष्ठ गायिका इन्दिरा गोले गुरुङको निधन

काठमाडौं । नेपाली लोक तथा तामाङ सेलो गीत–संगीतमा विशिष्ट योगदान पुर्‍याएकी वरिष्ठ गायिका इन्दिरा गोले गुरुङको निधन भएको छ ।

५८ वर्षीया गोले गुरुङको निधन बुधबार बिहान २ः०० बजे ललितपुरको हात्तीवनस्थित अपार्टमेन्टमा भएको हो । गायक तथा गीतकार फूलकुमार तामाङले जानकारी दिएअनुसार उनी विगत दुई वर्षदेखि क्यान्सरबाट पीडित थिइन् ।

हरिसिद्धिस्थित क्यान्सर अस्पतालमा उपचार गराइसकेपछि उनी पछिल्ला दुई सातादेखि अपार्टमेन्टमै बस्दै उपचार र आराम गरिरहेकी थिइन् ।

इन्दिरा कान्छी छोरीसँगै हात्तीवनको अपार्टमेन्टमा बस्दै आएकी थिइन् । उनका दुई छोरी रहेका छन् भने श्रीमानको निधन भइसकेको छ ।

गोलेले नेपाली लोक, आधुनिक र तामाङ गीतमा समान रूपले आफ्नो योगदान पुर्‍याइन् । रेडियो नेपालमा स्वर परीक्षा उत्तीर्ण गरेपछि उनले दर्जनौँ चर्चित लोकदोहोरी गीत गाइन् ।

उनी ‘चाँगुनारायण थान’, ‘जाइफूलको बासना’, ‘घर त छाउनीमा’, ‘सफा ट्याम्पुरी’, ‘होइ ताङ्बा’, ‘गाङ ग्याब्सेला’ जस्ता अमर गीतहरूमार्फत श्रोताको मनमा बस्न सफल भइन् ।

तामाङ कलाकार समाजकी पूर्वअध्यक्ष समेत रहेकी उनले तामाङ गीत–संगीतलाई देश–विदेशमा फैलाउन महत्वपूर्ण भूमिका खेलेकी थिइन् । उनले आफ्नो जीवनकालमा करिब पाँच हजारभन्दा बढी गीतमा स्वर दिएकी थिइन् ।

क्यान्सर उपचारका क्रममा उनको सहयोगार्थ तामाङ कलाकार संघलगायतका संघ–संस्थाले आर्थिक संकलन अभियान चलाएका थिए । तर रोग नियन्त्रणमा नआउँदा अन्ततः उनले जीवन गुमाउनु पर्‍यो ।

सन् १९६६ अक्टोबर १९ मा ललितपुरको भर्देउमा जन्मिएकी गोले गुरुङले बाल्यकालमै गीत–संगीतमा रुचि देखाएकी थिइन् । आफ्नो स्वर र प्रतिभामार्फत उनले तामाङ संस्कृतिको संरक्षण र प्रवर्द्धनमा विशेष भूमिका खेलेकी थिइन् ।



अगुल्टो अगुल्टो   
  • २०८२ भाद्र १८, बुधबार १०:१४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP