मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

सरकारको आग्रह: संसदीय प्रक्रिया नछोड्न रास्वपा–राप्रपालाई सुझाब

2.6K
SHARES
सरकारको आग्रह: संसदीय प्रक्रिया नछोड्न रास्वपा–राप्रपालाई सुझाब

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरूङले संसद अवरुद्ध गर्दै आएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई जिद्दीपन त्यागेर संसदीय प्रक्रियामा फर्कन आग्रह गरेका छन् ।

बुधबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री गुरूङले प्रतिपक्षका ती दलहरूको व्यवहार ‘मेरो गोरुको बाह्रै टक्का’ जस्तो भएको टिप्पणी गरे । उनले भने, ‘संसदीय प्रणालीमा विश्वास देखाउने हो भने समस्या समाधानका लागि संवाद र प्रक्रियामै लाग्नुपर्छ। संसद बहिष्कार गरेर मुलुकलाई अवरोध गर्नु गलत हो ।’

सरकारले भिजिट भिसा र अध्यागमन प्रणालीमा सुधारका लागि पूर्वमुख्यसचिव शंकरदास बैरागीको संयोजकत्वमा सात सदस्यीय उच्चस्तरीय छानबिन समिति गठन गरेको छ । तर, उक्त समिति गठनप्रति रास्वपा र राप्रपाले असहमति जनाएका छन् ।

मन्त्री गुरूङले समितिको उद्देश्य कुनै व्यक्तिविशेषप्रति लक्षित नभएको स्पष्ट पारे । ‘मन्त्रालयका कर्मचारीमाथि अख्तियारले अनुसन्धान थालेको भन्दै मन्त्रीले नै राजीनामा दिनुपर्ने परिस्थिति होइन,’ उनले भने, ‘सरकारले कुनै हठ गरेको छैन। बरु समितिले स्वतन्त्र रूपमा काम गर्न सकोस् भन्ने चाहना हो ।’

उनका अनुसार छानबिन समितिबाट भविष्यमा यस्ता समस्या नदोहोरियोस् भन्ने उद्देश्यले सुझाव संकलन र प्रणालीगत सुधारतर्फ ध्यान दिइनेछ। ‘प्रतिपक्षले पनि सकारात्मक ढंगमा संसदीय प्रक्रियामा सहभागी हुनुपर्छ,’ गुरूङले भने, ‘अहिलेको विरोधमा खास औचित्य छैन ।’

उनले संसद लोकतान्त्रिक अभ्यासको मुख्य थलो भएको भन्दै सबै पक्षलाई आपसी संवाद र विधिसम्मत प्रक्रियाबाट समाधान खोज्न आग्रह गरे ।



अगुल्टो अगुल्टो   
  • २०८२ असार ११, बुधबार ११:११
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP