मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

एमालेको अपानि–३ जारी: भण्डारीलाई वरिष्ठ नेतादेखि सार्वजनिक आलोचनामा कारबाहीसम्म

403
SHARES
एमालेको अपानि–३ जारी: भण्डारीलाई वरिष्ठ नेतादेखि सार्वजनिक आलोचनामा कारबाहीसम्म

काठमाडौं । नेकपा (एमाले) ले ललितपुरको च्यासलमा सम्पन्न तेस्रो केन्द्रीय कमिटी बैठकका निर्णय समेटिएको ‘अन्तरपार्टी निर्देशन–३’ (अपानि–३) जारी गरेको छ । अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन पारित गर्दै जारी गरिएको अपानिमा पार्टीको आगामी दिशा, नेतृत्व व्यवस्थापन, संगठन सुदृढीकरण र आन्तरिक अनुशासनबारे विभिन्न निर्णय सार्वजनिक गरिएको छ ।

अपानि–३ मा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीको दोस्रो वरीयताको वरिष्ठ नेताका रूपमा मनोनीत गर्ने निर्णयदेखि पार्टीभित्र गुटबन्दी र नेतृत्वको सार्वजनिक आलोचनामा कडाइ गर्ने व्यवस्था गरिएको छ । एमालेले पछिल्लो निर्वाचनमा व्यहोरेको पराजयको समीक्षा गर्दै बदलिँदो राजनीतिक तथा सामाजिक परिवेशअनुसार पार्टीलाई डिजिटल र युवा–मैत्री बनाउने नीति पनि अघि सारेको छ ।

भण्डारीलाई दोस्रो वरीयताको वरिष्ठ नेता
बैठकले दुई कार्यकाल राष्ट्रपति भइसकेकी विद्यादेवी भण्डारीलाई पार्टीको दोस्रो वरीयतामा रहने गरी वरिष्ठ नेतामा मनोनीत गरेको छ । त्यसका लागि पार्टी विधानको धारा १०५ मा रहेको बाधा अड्काउ फुकाउने अधिकार प्रयोग गर्दै विधान संशोधन गरिएको एमालेले जनाएको छ ।

यस्तै, विभिन्न राजनीतिक दलबाट एमालेमा प्रवेश गरेका तथा पार्टीमा योगदान पुर्‍याएका २० जनालाई केन्द्रीय कमिटी सदस्य र सात जनालाई स्थायी कमिटी सदस्यमा मनोनीत गरिएको छ ।

अब सार्वजनिक आलोचना गरे कारबाही
एमालेले पार्टीभित्र बढ्दै गएको गुटबन्दी, अनुशासनहीनता र नेतृत्वविरुद्धको सार्वजनिक अभिव्यक्तिप्रति कडा नीति लिएको छ । तेस्रो केन्द्रीय कमिटी बैठकलाई ‘कटअफ’ बिन्दु मान्दै विगतका गतिविधिमा आममाफी दिने र त्यसपछि पार्टीको नेतृत्व, नीति तथा निर्णयविरुद्ध सार्वजनिक रूपमा अभिव्यक्ति दिए तत्काल कारबाही गर्ने निर्णय गरिएको छ ।

यस्तो कारबाहीका लागि केन्द्रीय कमिटीले संगठन विभाग र अनुशासन आयोगलाई अधिकार दिएको छ । पार्टीभित्रको विवाद सार्वजनिक रूपमा लैजाने प्रवृत्तिलाई नियन्त्रण गर्दै संगठनात्मक अनुशासन बलियो बनाउने एमालेको उद्देश्य छ ।

निर्वाचनमा हारको कारण आन्तरिक कमजोरी
एमालेले पछिल्लो निर्वाचनमा भएको पराजयको समीक्षा गर्दै हारको कारण बाह्य घेराबन्दी मात्रै नभई पार्टीभित्रकै कमजोरीसमेत रहेको निष्कर्ष निकालेको छ ।

अध्यक्ष ओलीको प्रतिवेदनमा एमालेको संगठन ठूलो भए पनि जनताको दैनिक जीवनसँगको सम्बन्ध कमजोर हुँदै गएको उल्लेख गरिएको छ । युवा पुस्तासँग उनीहरूको भाषाशैली र माध्यमबाट संवाद गर्न नसकेको तथा डिजिटल सञ्चारको क्षेत्रमा पार्टी पछाडि परेको विषयलाई पनि पराजयको कारणका रूपमा औँल्याइएको छ ।

विपक्षीहरूले डिजिटल प्लेटफर्ममार्फत फैलाएका भ्रम तथा विभिन्न प्रचार सामग्रीको प्रभावकारी प्रतिवाद गर्न नसक्नु र स्थानीय तहका जनसरोकारका विषयलाई पर्याप्त रूपमा सम्बोधन गर्न नसक्नुले निर्वाचनमा पार्टीलाई क्षति पुगेको एमालेको विश्लेषण छ ।

युवा पुस्तालाई नेतृत्वमा ल्याउने नीति
एमालेले पार्टी पुनर्जागरणका लागि ‘रूपान्तरण, हस्तान्तरण र पुस्तान्तरण’को नीति अघि सारेको छ । नेतृत्व परिवर्तन कुनै भावनात्मक नाराका आधारमा नभई विधि, संघर्ष, क्षमता र योग्यताका आधारमा हुने अपानिमा स्पष्ट पारिएको छ ।

युवालाई संगठनमा औपचारिक सहभागितामा सीमित नराखी नीति निर्माण तथा निर्णय गर्ने तहमा पुर्‍याउने नीति एमालेले लिएको छ । यसैअन्तर्गत ‘मिसन पार्टी जागरण’ अभियान सञ्चालन गर्ने र वडा तहसम्म संगठनलाई जनताका समस्या समाधानमा केन्द्रित गराउने निर्णय गरिएको छ ।

एमालेले आर्टिफिसियल इन्टेलिजेन्स (एआई), डिजिटल अर्थतन्त्र र गिग इकोनोमीलगायत नयाँ प्रविधि तथा आर्थिक प्रणालीका विषयमा पार्टीको स्पष्ट धारणा निर्माण गर्ने जनाएको छ ।

सरकारविरुद्ध २२ वटा समसामयिक प्रस्ताव
अपानि–३ मा वर्तमान सरकारको कार्यशैलीप्रति पनि एमालेले गम्भीर असन्तुष्टि जनाएको छ । बैठकले २२ वटा समसामयिक प्रस्ताव पारित गर्दै सरकारले अघिल्लो सरकारका मन्त्री तथा पूर्वप्रधानन्यायाधीशलाई प्रतिशोधपूर्ण ढंगले पक्राउ गरेको आरोप लगाएको छ ।

सुकुम्बासीमाथि डोजर चलाइएको, ट्रेड युनियन तथा विद्यार्थीका अधिकार कटौती गर्न खोजिएको भन्दै एमालेले सरकारको आलोचना गरेको छ । भोटेकोशीसहित विभिन्न क्षेत्रमा आएको बाढी तथा प्राकृतिक विपत्तिपछि सरकारले सञ्चालन गरेको उद्धार र राहत कार्यसमेत कमजोर र गैरजिम्मेवार रहेको एमालेको निष्कर्ष छ ।

अब सरकारका गतिविधिको आलोचनामा मात्रै सीमित नभई महँगी, बेरोजगारी, किसानका समस्या लगायत जनसरोकारका मुद्दालाई लिएर संसद् र सडक दुवैबाट प्रभावकारी प्रतिपक्षको भूमिका निर्वाह गर्ने एमालेले जनाएको छ ।

राष्ट्रियता र लोकतन्त्रको संरक्षणका लागि सबै देशभक्त नागरिक तथा राजनीतिक दलसँग सहकार्य गर्नसमेत एमालेले आह्वान गरेको छ ।



अगुल्टो अगुल्टो   
  • २०८३ आश्विन २०, मंगलवार ०७:१३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP