मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय चुनावको तयारीमा रास्वपा: उम्मेदवार छनोटदेखि ‘राइट टु रिकल’ समितिसम्म निर्णय

572
SHARES
स्थानीय चुनावको तयारीमा रास्वपा: उम्मेदवार छनोटदेखि ‘राइट टु रिकल’ समितिसम्म निर्णय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनलाई केन्द्रमा राख्दै उम्मेदवार छनोट प्रक्रिया औपचारिक रूपमा अघि बढाउने निर्णय गरेको छ । शुक्रबार केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय समिति बैठकले स्थानीय चुनावको रूपरेखा, नयाँ पदाधिकारी, विभागीय जिम्मेवारी तथा संगठन विस्तारसँग सम्बन्धित विभिन्न निर्णयहरू गरेको हो ।

बैठकले महामन्त्री विपिनकुमार आचार्यको संयोजकत्वमा तयार गरिएको ‘स्थानीय निर्वाचन उम्मेदवार छनोट रूपरेखा–२०८३’ सुझावसहित अनुमोदन गरेको छ । साथै, केन्द्रीय समिति सदस्य र प्रतिनिधिसभा सदस्यबाट केन्द्रीय उम्मेदवार छनोट समितिमा सहभागी हुन इच्छुकहरूको नामावली माग गर्ने निर्णय पनि गरिएको छ ।

‘राइट टु रिकल’ अध्ययनका लागि ११ सदस्यीय समिति
रास्वपाले निर्वाचित जनप्रतिनिधिलाई फिर्ता बोलाउने व्यवस्था (राइट टु रिकल) सम्बन्धी नीतिगत दस्तावेज तयार गर्न महामन्त्री आचार्यको नेतृत्वमा ११ सदस्यीय समिति गठन गर्ने भएको छ ।

स्थानीय निर्वाचनको तयारीलाई प्रभावकारी बनाउन पार्टीले देशभरका ४६० गाउँपालिकामा अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ । कार्यक्रमको संयोजन सहमहामन्त्री निशा डाँगीले गर्नेछिन् ।

नयाँ पदाधिकारी र केन्द्रीय सदस्य मनोनयन
बैठकले सुनिल लम्साल, सुधन गुरुङ, प्रतिभा रावल, भूपदेव शाह, पुरुषोत्तम सुप्रभात यादव, डा. मनोहर प्रधान, बसुमाया तामाङ, सुरेन्द्र चौधरी र डा. भक्तबहादुर राईलाई केन्द्रीय समिति सदस्यमा मनोनयन गरेको छ ।

त्यसैगरी, पुरुषोत्तम सुप्रभात यादव सहमहामन्त्री, डा. मनोहर प्रधान कोषाध्यक्ष तथा बसुमाया तामाङ सहकोषाध्यक्ष नियुक्त भएका छन् । ललितपुरका जगदीश खरेल पार्टी प्रवक्ता बनेका छन् भने डा. नमिता यादव र सुरेन्द्र चौधरी सहप्रवक्ताको जिम्मेवारीमा रहेका छन् ।

सात विभागमा नेतृत्व तोकियो
रास्वपाले संगठन विभाग प्रमुखमा प्रमोद न्यौपाने, अन्तर्राष्ट्रिय सम्बन्धमा शिशिर खनाल, सार्वजनिक सेवा तथा जनगुनासो व्यवस्थापनमा विजय जैरु, जनस्वास्थ्यमा डा. तोसिमा कार्की, पूर्वाधारमा निशा डाँगी र अर्थ विभागमा लिमा अधिकारी आचार्यलाई जिम्मेवारी दिएको छ । प्रशिक्षण विभागको उपप्रमुखमा कमल सुवेदी नियुक्त भएका छन् ।

असोजदेखि डिजिटल पत्रिका
बैठकले आगामी असोज महिनादेखि ‘स्वतन्त्र’ नामक मासिक डिजिटल पत्रिका प्रकाशन गर्ने निर्णय पनि गरेको छ । साथै, मधेश प्रदेशमा जिल्ला र प्रदेश अधिवेशन अघि पार्टी संगठनको अडिट गर्न सहमहामन्त्री हरि ढकालको नेतृत्वमा पाँच सदस्यीय समिति गठन गरिएको छ ।

महामन्त्री विपिनकुमार आचार्यका अनुसार पार्टीले संगठन सुदृढीकरण र स्थानीय निर्वाचनको तयारीलाई प्राथमिकतामा राखेर आगामी कार्यक्रमहरू कार्यान्वयन गर्नेछ ।



अगुल्टो अगुल्टो   
  • २०८३ भाद्र ५, शुक्रबार ११:१७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP