मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मेस्सीको ऐतिहासिक उपलब्धि: ९०० गोल पूरा, विश्व फुटबलमा नयाँ कीर्तिमान

273
SHARES
मेस्सीको ऐतिहासिक उपलब्धि: ९०० गोल पूरा, विश्व फुटबलमा नयाँ कीर्तिमान

मियामी । अर्जेन्टिनी सुपरस्टार लियोनेल मेसीले व्यावसायिक फुटबल करियरमा ९०० गोल पूरा गर्दै ऐतिहासिक उपलब्धि हासिल गरेका छन् । बुधबार राति कन्काकाफ च्याम्पियन्स कपअन्तर्गत नासभिलविरुद्धको खेलमा गोल गर्दै ३८ वर्षीय मेस्सीले यो दुर्लभ कीर्तिमान पार गरेका हुन् ।

टेनेसीस्थित जियोडिस पार्कमा भएको उक्त खेलको सातौं मिनेटमै गोल गर्दै मेस्सी विश्व फुटबल इतिहासमा ९०० गोल पूरा गर्ने दोस्रो खेलाडी बने । उनीभन्दा अघि यो उपलब्धि पोर्चुगिज क्रिष्टियानो रोनाल्डोले हासिल गरिसकेका छन् ।

सन् २०२३ को जुनमा इन्टर मियामीमा आबद्ध भएयता मेस्सीले ९२ खेलमा ८१ गोल गर्दै प्रभावशाली प्रदर्शन गरेका छन् । उनको योगदानमा क्लबले लिग कप र एमएलएस कप जित्न सफल भएको छ ।

बार्सिलोनाबाट करियर सुरु गरेका मेस्सीले त्यहाँ १७ वर्ष बिताउँदै ७७८ खेलमा ६७२ गोल गरेका थिए । बार्सिलोनाबाट उनले १० ला लिगा र ४ च्याम्पियन्स लिगसहित थुप्रै उपाधि जितेका थिए । त्यसपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) मा दुई सिजन बिताउँदै ७५ खेलमा ३२ गोल थपेका थिए ।

मेस्सीको गोल गर्ने शैली पनि उत्तिकै रोचक छ । उपलब्ध तथ्याङ्कअनुसार उनले ९०० गोलमध्ये ७५५ गोल देब्रे खुट्टाबाट गरेका छन् भने १११ गोल दाहिने खुट्टाबाट गरेका छन् । त्यस्तै ३० गोल हेडरमार्फत र ४ गोल अन्य तरिकाबाट गरेका छन् । पेनाल्टीमार्फत उनले ११२ तथा फ्रिकिकबाट ७० गोल गरेका छन् ।

प्रतिस्पर्धी टिमहरूमा उनले सबैभन्दा धेरै गोल सेभिया (२५०, एथलेटिक क्लब (२४) र एट्लेटिको म्याड्रिड (२३) विरुद्ध गरेका छन् ।

अन्तर्राष्ट्रिय स्तरमा पनि मेस्सीको प्रदर्शन उत्तिकै उत्कृष्ट छ । अर्जेन्टिना राष्ट्रिय टोलीका लागि १९६ खेलमा उनले ११५ गोल गरेका छन् । उनकै कप्तानीमा अर्जेन्टिनाले सन् २०२२ मा कतारमा सम्पन्न भएकोको विश्वकप फुटबलको उपाधि जितेको थियो ।

आठ पटकका बलोन डी’ओर विजेता मेस्सी अहिले आफ्ना दीर्घकालीन प्रतिस्पर्धी रोनाल्डोको कीर्तिमान नजिकिँदै छन् । रोनाल्डोले सन् २०२४ सेप्टेम्बरमा ९०० गोल पूरा गरेका थिए र हाल उनको नाममा ९५९ गोल रहेको छ ।

फुटबल इतिहासमा आधिकारिक रूपमा ९०० गोल पार गर्ने खेलाडीहरूमा मेस्सी र रोनाल्डो मात्र रहेका छन् । ब्राजिलियन महान् फुटबलर पेलेले हजारभन्दा बढी गोल गरेको दाबी गरिए पनि आधिकारिक रूपमा उनको गोल संख्या ७७८ मानिन्छ । त्यस्तै ब्राजिलकै फुटबलर रोमारिएको नाममा ७८५ गोल दर्ता छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ चैत्र ५, बिहीबार ०९:२४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP