मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

काठमाडौं–ललितपुर प्रहरी नेतृत्व फेरियो, ३३ एसएसपीको एकैपटक सरुवा

507
SHARES
काठमाडौं–ललितपुर प्रहरी नेतृत्व फेरियो, ३३ एसएसपीको एकैपटक सरुवा

काठमाडौं । सरकारले नेपाल प्रहरीका ३३ जना वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) को एकैपटक सरुवा गरेको छ । गृहमन्त्रालयको जिम्मेवारीसमेत सम्हालिरहेका प्रधानमन्त्री बालेन्द्र शाहको निर्णयअनुसार सोमबार सरुवाको सूची सार्वजनिक गरिएको हो ।

सरुवासँगै काठमाडौं र ललितपुरका प्रहरी प्रमुख परिवर्तन भएका छन् । काठमाडौं प्रहरी परिसरको नेतृत्व अब एसएसपी दिलिप घिमिरेले सम्हाल्ने भएका छन् भने ललितपुर प्रहरी परिसरको प्रमुखमा एसएसपी तुलबहादुर कार्की नियुक्त भएका छन् । घिमिरे यसअघि मानवस्रोत विकास विभागमा कार्यरत थिए भने कार्की गण्डकी प्रदेश प्रहरी कार्यालयमा कार्यरत थिए ।

काठमाडौं प्रहरी प्रमुख रहेका एसएसपी रमेश थापा मधेस प्रदेश प्रहरी कार्यालयमा सरुवा भएका छन् । यद्यपि उनलाई काजमा प्रहरी प्रधान कार्यालयअन्तर्गत अन्वेषण योजना तथा विकास निर्देशनालयको जिम्मेवारी दिइएको छ । ललितपुर प्रहरी प्रमुख होबिन्द्र बोगटी भने प्रहरी प्रधान कार्यालयस्थित राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन महाशाखामा सरुवा भएका छन् ।

सरुवासँगै काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको नेतृत्व पनि परिवर्तन भएको छ । ट्राफिक प्रहरी प्रमुखको जिम्मेवारी एसएसपी शान्तिराज कोइरालाले पाएका छन् । यसअघिका प्रमुख नवराज अधिकारीलाई साइबर ब्युरो, भोटाहिटीमा खटाइएको छ ।

लागुऔषध नियन्त्रण ब्युरो, कोटेश्वरको प्रमुखमा एसएसपी सुवासचन्द्र बोहरालाई पठाइएको छ । कार्य विभागमा कार्यरत बोहराले अब ब्युरोको नेतृत्व सम्हाल्नेछन् । यसअघिका प्रमुख कृष्णप्रसाद कोइराला भने गण्डकी प्रदेश प्रहरी कार्यालयमा सरुवा भएका छन् ।

मानव बेचबिखन अनुसन्धान ब्युरो, बबरमहलको प्रमुखमा एसएसपी नकुल पोखरेललाई जिम्मेवारी दिइएको छ । उनी यसअघि अन्तर्राष्ट्रिय प्रहरी समन्वय महाशाखामा कार्यरत थिए ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रमुख एसएसपी शिवकुमार श्रेष्ठलाई कोसी प्रदेश प्रहरी तालिम केन्द्रमा सरुवा गरिएको छ । उनको स्थानमा युक्ति तालिम महाविद्यालय, जर्गाह पश्चिम नवलपरासीमा कार्यरत एसएसपी अनुपशमशेर जबरा ल्याइएका छन् । जबराको स्थानमा साइबर ब्युरोका एसएसपी अजय केसीलाई पठाइएको छ ।

यस्तै, एसएसपी दयानिधि ज्ञवालीलाई लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र, बुटवलमा सरुवा गरिएको छ ।

सरकारले गरेको यो व्यापक सरुवाले प्रहरी संगठनका विभिन्न महत्वपूर्ण कार्यालय र इकाइहरूको नेतृत्वमा उल्लेखनीय फेरबदल आएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८३ जेष्ठ १९, मंगलवार ०१:०७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP