मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

आजबाट एसईई, एक महिनामै नतिजा ल्याउने लक्ष्य

1.7K
SHARES
आजबाट एसईई, एक महिनामै नतिजा ल्याउने लक्ष्य

काठमाडौं । नेपालभर आजदेखि माध्यमिक शिक्षा परीक्षा (एसईई) एकैसाथ सुरु हुँदैछ । पहिलो दिन अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा सञ्चालन हुँदैछ । यस वर्षको परीक्षालाई अझ व्यवस्थित, प्रविधिमैत्री र नतिजामुखी बनाउन राष्ट्रिय परीक्षा बोर्डले विशेष रणनीति लागू गरेको जनाएको छ ।

यस पटकको परीक्षामा देशभर तथा वैदेशिक केन्द्रसहित ५ लाख १२ हजारभन्दा बढी विद्यार्थी सहभागी भएका छन् । बोर्डले उत्तरपुस्तिका परीक्षण प्रणालीमा सुधार गर्दै ‘विकेन्द्रीकरण’ अभ्यासमा ल्याएको छ, जसले नतिजा प्रकाशनलाई तीव्र बनाउने अपेक्षा गरिएको छ । सरकारको योजना अनुसार परीक्षा सम्पन्न भएको एक महिनाभित्रै नतिजा सार्वजनिक गरिने लक्ष्य राखिएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले पदभार सम्हालेसँगै शिक्षा क्षेत्रमा सुधारका कदम चाल्दै एसईई नतिजा छिटो प्रकाशन गर्न निर्देशन दिएका थिए । ढिलो नतिजाका कारण विद्यार्थीको शैक्षिक क्यालेन्डर प्रभावित हुनुका साथै मानसिक तनाव बढ्ने समस्या देखिएकाले यस्तो निर्णय गरिएको बताइएको छ ।

यसअघि एक प्रदेशको उत्तरपुस्तिका अर्को प्रदेशमा पठाएर परीक्षण गर्ने प्रचलन रहेको थियो, जसले समय खर्च बढाउँथ्यो । तर अब सम्बन्धित परीक्षा केन्द्रकै आसपासमा परीक्षण केन्द्र निर्धारण गरिनेछ । यसले ओसारपसारमा लाग्ने समय घटाउने र स्थानीय शिक्षकको सहभागितामा काम छिटो सम्पन्न हुने विश्वास गरिएको छ ।

परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार आवश्यक परेमा शिक्षक अभाव वा सुरक्षाका कारण संवेदनशील देखिएका केन्द्रहरूको उत्तरपुस्तिका सुरक्षित स्थानमा सारिने व्यवस्था पनि गरिएको छ । यसले सुरक्षा र निष्पक्षतामा कुनै कमी आउन नदिने बोर्डको दाबी छ ।

यस वर्ष कुल ५ लाख १२ हजार ४ सय २१ विद्यार्थीले परीक्षा फारम भरेका छन्, जसमा छात्राको संख्या छात्रभन्दा बढी रहेको छ । साथै, ७ जना अन्य लिङ्गी विद्यार्थीहरू पनि सहभागी छन् । महिला शिक्षामा बढ्दो पहुँचलाई यसले सकारात्मक संकेत दिएको बताइएको छ ।

वैदेशिक रूपमा जापानस्थित एभरेस्ट स्कुलबाट २३ जना विद्यार्थी परीक्षा दिनेछन् । नेपाल र जापानको समय फरकलाई ध्यानमा राख्दै परीक्षा सञ्चालन गरिएको छ । यस वर्ष कुल १ हजार ९ सय ६६ परीक्षा केन्द्रहरू निर्धारण गरिएका छन् ।



अगुल्टो अगुल्टो   
  • २०८२ चैत्र १९, बिहीबार ००:४३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP