मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

निर्वाचन नजिकिँदै जाँदा आचारसंहितामा कडाइ, सबै तहका निकायलाई आयोगको चेतावनी

936
SHARES
निर्वाचन नजिकिँदै जाँदा आचारसंहितामा कडाइ, सबै तहका निकायलाई आयोगको चेतावनी

काठमाडौं । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले आचारसंहिताको पालनामा कडाइ गरेको जनाएको छ । पछिल्ला दिनमा आचारसंहिता उल्लङ्घनका घटना सार्वजनिक हुनुका साथै उल्लेख्य सङ्ख्यामा उजुरी परेपछि आयोगले सम्बन्धित सबै पक्षलाई सचेत गराएको हो ।

आयोगका अनुसार नेपाल सरकार, प्रदेश सरकार तथा दुवै तहका मन्त्रीहरूलाई पूर्ण रूपमा निर्वाचन आचारसंहिता लागू हुनेछ । त्यस्तै, संघीय, प्रदेश र स्थानीय तहअन्तर्गतका सरकारी निकाय, तिनका पदाधिकारी तथा कर्मचारीहरू पनि आचारसंहिताको दायराभित्र पर्नेछन् ।

स्थानीय कार्यपालिका र तिनका सदस्य, सरकारी, अर्धसरकारी तथा सार्वजनिक संस्थाका कार्यालय र कर्मचारीलाई समेत आचारसंहिता अनिवार्य रूपमा पालना गर्न आयोगले निर्देशन दिएको छ ।

सञ्चार प्रतिष्ठान, सञ्चारकर्मी, विद्यालय, महाविद्यालय र विश्वविद्यालय तथा तिनका शिक्षक–कर्मचारीलाई पनि आचारसंहिताको दायरामा राखिएको छ । यसैगरी राजनीतिक दल, भ्रातृ संगठन, उम्मेदवार, निर्वाचन प्रतिनिधि, मतदान प्रतिनिधि र मतगणना प्रतिनिधिलाई पनि कडाइका साथ आचारसंहिता लागू हुने जनाइएको छ ।

निजी क्षेत्रतर्फ बैंक तथा वित्तीय संस्था, सहकारी, व्यापारिक तथा औद्योगिक प्रतिष्ठान, वस्तु तथा सेवा प्रदायक कम्पनी, तिनका पदाधिकारी र कर्मचारीसमेत आचारसंहिताबाट अछुतो नरहने आयोगले स्पष्ट पारेको छ । निजी तथा गैरसरकारी संस्थाका पदाधिकारी र कर्मचारीलाई पनि समान रूपमा नियम लागू हुनेछ ।

संवैधानिक निकाय, सुरक्षा निकाय, सुरक्षाकर्मी, सार्वजनिक पद धारण गरेका व्यक्ति, अनुगमन समितिका पदाधिकारी तथा अनुगमनकर्तालाई पनि निर्वाचन आचारसंहिता लागू हुने जनाइएको छ ।

यसका साथै मतदाता, पर्यवेक्षण संस्था र पर्यवेक्षक, विकास साझेदार संस्था, सरकारी तथा अर्धसरकारी परियोजना र तिनका कर्मचारी, मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने संस्था र तिनका कर्मचारीलाई समेत आचारसंहिता पालना गर्नुपर्ने आयोगको भनाइ छ ।

स्थानीय कार्यपालिकाका केही पदाधिकारी निर्वाचन आचारसंहिताविपरीत प्रचारप्रसारमा संलग्न भएको पाइएपछि आयोगले आइतबार आचारसंहिताको स्मरण गराएको थियो । सोमबार पुनः सरकारी र निजी क्षेत्रलाई लक्षित गर्दै आचारसंहिता पूर्ण रूपमा लागू हुने दोहोर्‍याउँदै कडाइका साथ पालना गर्न निर्देशन दिएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ फाल्गुन १२, मंगलवार ०१:०३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP