मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

भारतमा नेपाली नक्कली नोट छाप्ने गिरोहमाथि कारबाही, तीन नेपालीसहित १० जना पक्राउ

741
SHARES
भारतमा नेपाली नक्कली नोट छाप्ने गिरोहमाथि कारबाही, तीन नेपालीसहित १० जना पक्राउ

काठमाडौं । भारतमा नेपाली नक्कली नोट छाप्ने अन्तर्राष्ट्रिय गिरोहविरुद्ध भारतीय सुरक्षाकर्मीले ठूलो कारबाही गरेका छन् । नक्कली नोट उत्पादन गरी नेपालमा पैठारी गर्ने योजनामा संलग्न तीन नेपाली नागरिकसहित १० जनालाई पक्राउ गरिएको भारतीय प्रहरीले जनाएको छ ।

बिहार राज्यको सीतामढी जिल्लाअन्तर्गत मेजरगञ्ज क्षेत्रमा पूर्वी चम्पारण प्रहरी र स्पेशल टास्क फोर्स (एसटीएफ) ले संयुक्त रूपमा छापा मार्दा अत्याधुनिक नक्कली नोट छाप्ने कारखाना फेला परेको हो । प्रहरीले कारखानालाई पूर्ण रूपमा नष्ट गरेको जनाएको छ ।

छापाको क्रममा प्रहरीले करिब २५ लाख नेपाली रुपैयाँ बराबरका नक्कली नोट, एक लाख ४० हजार सक्कली नेपाली रुपैयाँ, एक हजार ८५० नक्कली भारतीय नोट बरामद गरेको छ । साथै, हाइटेक प्रिन्टिङ मेसिन, नोट छपाइमा प्रयोग हुने विशेष कागजका २२ बण्डल, विभिन्न रसायन र अन्य सामग्रीसमेत नियन्त्रणमा लिइएको छ । नक्कली नोट ओसारपसारमा प्रयोग गरिएका तीनवटा मोटरसाइकल र एउटा कार पनि प्रहरीले जफत गरेको छ ।

प्रारम्भिक अनुसन्धानअनुसार गिरोहले खुला नेपाल–भारत सिमानाको फाइदा उठाउँदै निर्वाचनको समयमा नेपालमा नक्कली नोट तस्करी गरी बजारमा फैलाउने योजना बनाएको खुलेको छ ।

भारतीय प्रहरीले निर्वाचनजस्तो संवेदनशील समयमा आर्थिक अराजकता सिर्जना गर्ने र राजनीतिक गतिविधिलाई प्रभावित पार्ने उद्देश्यले यो सुनियोजित गतिविधि भएको आशंका गरेको छ । नक्कली नोटको कारोबार राष्ट्रिय सुरक्षा, आर्थिक स्थायित्व र निर्वाचन प्रक्रियाका लागि गम्भीर खतरा भएको भन्दै घटनालाई उच्च प्राथमिकतामा राखेर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

हाल नेपाल र भारत दुवै देशमा सक्रिय यस गिरोहका अन्य सदस्यहरूको खोजी तीव्र पारिएको बताइएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ माघ २०, मंगलवार ०१:१५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP