मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

कांग्रेसको महाधिवेशन चुनावअघि नै होस भन्ने पक्षमा शेखर कोइराला

1.4K
SHARES
कांग्रेसको महाधिवेशन चुनावअघि नै होस भन्ने पक्षमा शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले आगामी आम निर्वाचनअघि नै पार्टीको महाधिवेशन सम्पन्न गर्नुपर्ने पक्षमा आफू अडिग रहेको स्पष्ट गरेका छन् ।

शुक्रबार राजधानीमा आयोजित जिल्ला सभापति तथा पूर्वसभापतिहरूसँगको छलफलमा उनले २०८२ मंसिर मसान्तभित्र महाधिवेशन सम्पन्न गर्नुपर्ने प्रस्ताव दोहोर्‍याउँदै कोइरालाले भने, “मंसिरमा समय नपुगे पनि पुस मसान्तसम्ममा अनिवार्य रूपमा सम्पन्न गर्नुपर्छ ।”

उनका अनुसार, पुस मसान्तसम्मको तालिका निर्वाचन आयोगको मापदण्ड र समयसीमासँग नबाझिने गरी तय गर्न सकिन्छ । कोइरालाले जोड दिए, “आगामी आम निर्वाचनभन्दा अघि नयाँ र ताजा नेतृत्वसहित चुनावमा जानु कांग्रेसको लागि राजनीतिक र संगठनात्मक दुवै दृष्टिले अत्यावश्यक छ ।”

एकता र जिम्मेवारीमा जोड
कोइरालाले अहिलेको राजनीतिक परिस्थितिमा कांग्रेसले एकताबद्ध, जिम्मेवार र संयमित भएर अघि बढ्नुपर्ने आवश्यकता औँल्याए । उनले भने, “राष्ट्र, जनता र लोकतन्त्र कांग्रेसको प्राथमिकता हुनुपर्छ । विगतका आरोह–अवरोहले धेरै पाठ सिकाएको छ, अब ती गल्ती दोहोरिनु हुँदैन ।”

उनले पार्टीभित्रको गुटबन्दी र आन्तरिक अविश्वास अन्त्य गर्न सबै नेताहरूले ठूलो मनले एकता अंगिकार गर्नुपर्ने बताए । “एकता नै बल हो भन्ने भावना अंगाल्नुपर्छ । कसैले पनि ‘मेरो गोरुको बाह्रै टक्का’ भन्ने सोच राख्नु हुँदैन,” भन्दै उनले मेलमिलापको संस्कृतिमा जोड दिए ।

महाधिवेशनबारे कांग्रेसभित्र बहस तीव्र
जारी केन्द्रीय समितिको बैठकमा पनि शेखर समूहका पदाधिकारी र केन्द्रीय सदस्यहरूले आम निर्वाचनअघि नै महाधिवेशन गर्नुपर्ने माग उठाइरहेका छन् । उनका अनुसार, चुनावअघि नेतृत्व परिवर्तनले पार्टीको तयारीलाई सुदृढ बनाउनेछ र कार्यकर्तामा ऊर्जा थप्नेछ ।

यता, अर्को पक्षले भने आम निर्वाचनपछि महाधिवेशन गर्नुपर्ने तर्क गर्दै आएको छ । यसै कारण कांग्रेसभित्र अहिले ‘पहिले चुनाव कि पहिले महाधिवेशन’ भन्ने बहस चर्किएको छ ।

कोइरालाको भनाइमा, “पार्टीलाई नयाँ दिशामा लैजान महाधिवेशन अब ढिला गर्न मिल्दैन । यो केवल नेतृत्वको होइन, संस्थागत भविष्यको पनि सवाल हो ।”



अगुल्टो अगुल्टो   
  • २०८२ कार्तिक २१, शुक्रबार १०:३८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP