मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

गाईजात्रा पर्व आज देशभर मनाइँदै

2.3K
SHARES
गाईजात्रा पर्व आज देशभर मनाइँदै

काठमाडौं । भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिनसम्म चल्ने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज काठमाडौँ उपत्यकासहित देशभर विभिन्न कार्यक्रमका साथ मनाइँदैछ । विशेषगरी उपत्यकामा यसको रौनक उच्च रहन्छ ।

यो पर्व एक वर्षभित्र दिवंगत भएका आफन्तको सम्झनामा मनाइन्छ । श्रद्धालुहरू गाई वा गाईको स्वरूपमा सिँगारिएका व्यक्तिहरूलाई नगर परिक्रमा गराउँछन् । सहभागीहरूलाई दूध, फलफूल, रोटी, चिउरा, दही, अन्न तथा नगद दान गरिन्छ । धार्मिक विश्वासअनुसार, यसरी गाईको रूपकमा नगर परिक्रमा गरे मृत आत्माले गाईको पुच्छर समातेर वैतरणी पार गर्ने मार्ग पाउँछन् ।

गाईजात्राको सुरुवात राजा प्रताप मल्लको पालामा भएको ऐतिहासिक उल्लेख छ । आफ्ना पुत्रको निधनपछि शोकमा डुबेका रानीलाई संसारमा अरूले पनि त्यस्तै पीडा भोगेको देखाउन राजा प्रताप मल्लले जनतालाई आफ्ना मृत आफन्तको नाममा गाईजात्रा निकाल्न आदेश दिएका थिए । तर, यसले रानीको दुःख कम नभएपछि उनले प्रहसन र हास्यव्यङ्ग्यपूर्ण कार्यक्रम राख्न लगाएका थिए, जसले आजसम्मको हास्यव्यङ्ग्य परम्पराको आधार तयार गर्‍यो ।

प्रताप मल्लको समयदेखि नै गाईजात्रा हनुमानढोकास्थित राजदरबार भएर जाने चलन आज पनि कायम छ । पर्वका क्रममा प्रहसन, सामाजिक विकृति र विसङ्गतिलाई व्यङ्ग्य गर्ने प्रदर्शन, नाचगान, तथा मृतको सम्झनामा करुण रसका भजन–कीर्तन गाइन्छ ।

हास्यव्यङ्ग्यको परम्परा र सामाजिक सन्देश
पञ्चायती शासनकालमा व्यङ्ग्यात्मक प्रस्तुति भएकै कारण २०१७ साल पुस १ गतेको शाही ‘कू’पछि गाईजात्रामा प्रतिबन्ध लगाइएको थियो । तर, २०३३ सालमा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानले महोत्सवको रूपमा पुनः यसलाई झाँकी र हास्यव्यङ्ग्यसहित मनाउन थालेको हो । आज पनि यस पर्वको अवसरमा सामाजिक विसङ्गति, कुरीति र भ्रष्टाचारलाई व्यङ्ग्यमार्फत उजागर गरिन्छ ।

पाटनमा प्रदर्शन गरिने सत्ययुगको धान र चामलको नमूना, तथा काठमाडौंको ठमेलमा देखाइने स्वर्ण–रजताक्षरमा लेखिएका पुस्तकहरू दर्शनीय मानिन्छन् । पर्वको दिन विभिन्न पत्रपत्रिकाले पनि विशेष हास्यव्यङ्ग्य अंक प्रकाशन गर्छन् ।

काठमाडौं उपत्यकाबाहेक बनेपा, धुलिखेल, पनौती, बाह्रबिसे, त्रिशूली, दोलखा, खोटाङ, भोजपुर, चैनपुर, इलाम, धरान, विराटनगर, वीरगञ्ज, हेटौँडा, पोखरा लगायत नेवार समुदायको विशेष उपस्थिति रहेका सहरहरूमा पनि गाईजात्रा उत्साहपूर्वक मनाइन्छ । यस अवसरमा हाँस्य कलाकारहरूले विशेष कार्यक्रम प्रस्तुत गर्छन् ।

सरकारले काठमाडौं उपत्यकामा आज सार्वजनिक बिदा दिएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ श्रावण २५, आईतवार ०५:३६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP