मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

युद्धको प्रभाव: नेपालमा पेट्रोल १५ र डिजेल १० रुपैयाँले महँगियो

1K
SHARES
युद्धको प्रभाव: नेपालमा पेट्रोल १५ र डिजेल १० रुपैयाँले महँगियो

काठमाडौं । पश्चिम एशियामा जारी युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेपछि नेपाल आयल निगमले पनि घरेलु बजारमा इन्धनको मूल्य वृद्धि गरेको छ ।

निगमले २०८२ चैत १ गते जारी गरेको प्रेस विज्ञप्तिअनुसार पेट्रोलमा प्रति लिटर १५ रुपैयाँ तथा डिजेल र मट्टितेलमा प्रति लिटर १० रुपैयाँले मूल्य बढाइएको हो । नयाँ मूल्य सूची २०८२ चैत २ गते बिहान १२ः०१ बजेदेखि लागू भएको छ ।

नयाँ समायोजनपछि तेस्रो वर्गअन्तर्गत पर्ने काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रति लिटर १७२ रुपैयाँ पुगेको छ भने डिजेल तथा मट्टितेलको मूल्य १५२ रुपैयाँ कायम गरिएको छ ।

त्यस्तै दोस्रो वर्गका क्षेत्र सुर्खेत र दाङमा पेट्रोल प्रति लिटर १७१ रुपैयाँ र डिजेल १५१ रुपैयाँ निर्धारण गरिएको छ । पहिलो वर्गअन्तर्गत पर्ने तराईका जिल्लाहरूमा भने पेट्रोल १६९.५० रुपैयाँ र डिजेल १४९.५० रुपैयाँमा बिक्री हुने निगमले जनाएको छ ।

निगमका अनुसार अन्तर्राष्ट्रिय बजारमा पछिल्लो लागत मूल्यका आधारमा पेट्रोलमा ३१ रुपैयाँ, डिजेलमा ५४ रुपैयाँ र खाना पकाउने ग्यासमा प्रति सिलिण्डर २१६ रुपैयाँसम्म मूल्य बढेर आएको छ । तर उपभोक्ताको हित र सार्वजनिक सवारी साधनको सञ्चालनलाई ध्यानमा राख्दै मूल्य स्थिरीकरण कोष प्रयोग गरी कम दरमा मात्र मूल्य बढाइएको निगमको दाबी छ ।

यति मूल्य समायोजन गरे पनि निगमलाई अझै पाक्षिक रूपमा करिब ३ अर्ब ९३ करोड रुपैयाँ घाटा हुने अवस्था रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

निगमले विगतमा रसिया–युक्रेन युद्धका कारण इन्धनको बक्यौता भुक्तानी गर्न नसक्दा आपूर्ति प्रभावित भएको अनुभवलाई स्मरण गर्दै हालको अवस्थामा आपूर्ति प्रणालीलाई निरन्तर र सहज बनाउन मूल्य समायोजन आवश्यक भएको जनाएको छ ।

साथै अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घट्ने बित्तिकै नेपालमा पनि मूल्य घटाएर उपभोक्तालाई राहत दिने प्रतिबद्धता निगमले व्यक्त गरेको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ चैत्र २, सोमबार ००:४९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP